ललितपुर। कृषि तथा वन विज्ञान विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिएको विषय पेचिलो बन्दै गएको छ । एकातिर अदालतले निजी कलेजको भर्ना प्रक्रिया नरोक्न अन्तरिम आदेश दिएको छ भने अर्कोतर्फ सम्बन्धन खारेज गर्नुपर्ने माग राखेर विद्यार्थी तथा प्राध्यापकहरू आन्दोलनमा छन् । अदालतको अन्तरिम आदेशलाई पनि आ–आफ्नो अनुकूल व्याख्या भइरहेको छ ।

विद्यार्थी तथा प्र्राध्यापकहरूले कृषि शिक्षामा निजीकरणको विरोध गर्दै आन्दोलन गरिरहेका छन् भने सम्बन्धन प्राप्त कलेज अदालतको आदेशविपरीतको क्रियाकलाप भएको भन्दै आक्रोशित छन् । विश्वविद्यालयले सर्वोच्चको आदेशलाई टेकेर निजी कलेजसहितमा भर्ना खोल्ने र विरोधपछि सूचना रद्ध गर्दै आएको छ ।

विश्वविद्यालयबाट १७ मंसिरमा एकै दिन तीनवटासम्म सूचना आएका छन् । १७ मंसिरमा रजिस्ट्रार प्रा।डा। मनराज कोलाक्षपतीले सम्बन्धनप्राप्त क्याम्पसमा भर्ना विषयमा विवाद भएकाले २० कात्तिक र ११ मंसिरमा विद्यार्थी भर्नासम्बन्धी सूचना रद्ध गर्न कृषि संकायको डिनलाई निर्देशन गरेका थिए । सो निर्देशनपछि डिन कार्यालयले संशोधनसहितको सूचना निकालेर आंगिक क्याम्पसका लागि मात्र भर्ना सूचना प्रकाशित गरेको थियो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा। ईश्वरीप्रसाद कडरियाले विश्वविद्यालयले त्रुटिपूर्णरूपमा सम्बन्धन दिएको कारण रद्ध गर्नुपर्ने बताए । उनले आंगिक र सम्बन्धनलाई फरक मापदण्ड बनाएर दिएकाले आन्दोलनमा लागेको बताए ।

निजी कलेजहरूलाई अवैज्ञानिक रूपमा सम्बन्धन दिइएको र भर्नाका लागि प्रक्रियासमेत अघि बढाइएको भन्दै विद्यार्थी र प्राध्यापकहरू आन्दोलित भएका छन् । नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठन आबद्ध प्राध्यापकहरूले सर्वोच्च अदालतमा दायर विचाराधीन मुद्दालाई अन्तरिम आदेश भनी अपव्याख्या गरिएको आरोप लगाएका छन् ।

सर्वोच्चको आदेशलाई अन्तरिम आदेश भनी अपव्याख्या गरी आगामी २६ पुसमा अर्को पेसी रहेर अन्तिम फैसलासमेत आउने परिस्थितिमा सो फैसला प्रभावित पार्ने नियतले निजी कलेजलाई समेटेर भर्ना आह्वान गरेको उनीहरूको दाबी छ ।

आन्दोलनरत नेपाल प्रगतिशील प्राध्यापक संगठनका कार्यवाहक अध्यक्ष उदितप्रकाश सिग्देल र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सचिव डा। शंकरराज बर्सिलाले १८ मंसिरमा जारी गरेको विज्ञप्तिमा विश्वविद्यालयका पदाधिकारीकै मिलेमतोमा निजी कलेजलाई उक्साएर सर्वोच्चमा मुद्दा दायर गर्न लगाएको आरोप लगाएका छन् ।

सरकारी जागिर खाने, तर निजीमा लगानी गरेर पढाउनेले विरोध गरे : शिव डाँगी, प्रवन्ध सञ्चालक, जीविका कृषि विज्ञान क्याम्पस

कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका निजी कलेज सञ्चालकहरूले कृषि क्याम्पसका पुराना लगानीकर्ताले नयाँलाई आउन नदिने खेलका रूपमा आन्दोलन भएको दाबी गरेका छन् । सम्बन्धनप्राप्त जीविका कृषि सहकारीद्वारा सञ्चालित जीविका कृषि विज्ञान क्याम्पसका प्रवन्ध सञ्चालक शिव डाँगीले सबै प्रक्रिया पूरा गरेर सम्बन्धन पाएका कलेजको विरोधमा पुराना नीजि कृषि क्याम्पसका लगानीकर्ताले उक्साएको दाबी गरे ।

‘सरकारी विश्वविद्यालयमा जागिर खाने, निजीमा लगानी गरेर त्यही पढाउने शिक्षकहरूले उक्साएर विरोध गर्न लगाएका हुन्’ प्रबन्ध सञ्चालक शिव डाँगीले भने, ‘निजीमा लगानी गर्ने, निजीमै पढाउने अनि निजीकरणको विरोध गर्ने शिक्षकसँग के नैतिकता छ रु’ कृषि तथा वन विज्ञान विश्वविद्यालयका जागिर भएका पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नेपाल पोलिटेक्निक कृषि क्याम्पसमा लगानी गरी पढाउने शिक्षकले आन्दोलन गर्ने र आन्दोलनका लागि उक्साउने गरेको उनले जिकिर गरे । चितवनकै निजी क्याम्पसमा संलग्नहरूले अरूलाई प्रयोग गरेर आन्दोलन गर्न लगाएको उनको दाबी छ ।