ललितपुर। नेपाल खाद्य संस्थानले यस वर्षका लागि धान खरिद गर्न शुरू गरेको छ । तराईका विभिन्न जिल्लाबाट ३ लाख ५० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको संस्थानले बिहीवारदेखि धान खरिद गर्न शुरू गरेको हो ।

संस्थानका प्रवक्ता शंकर सापकोटाले बिहीवारदेखि पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाबाट पहिलो चरणमा धान खरिद गर्न शुरू गरेको जानकारी दिए । पहिलो चरणमा ३ लाख ५० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य संस्थानको भएपनि माग अनुसार खरिदको परिमाण वृद्धि हुन सक्ने सापकोटाले बताए ।

‘पहिलो चरणमा पश्चिम नेपालका केही जिल्लाबाट धान खरिद शुरू गरेका छौं,’ सापकोटाले भने, ‘पूर्वतिरका जिल्लाबाट हुने खरिद प्रक्रिया दुईचार दिन ढिला हुन सक्छ ।’

सरकारले यो वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २३ सय ३१ रुपैयाँ २२ पैसा तोकेको छ । त्यस्तै मध्यम धानको मूल्य प्रतिक्विन्टल २४ सय ६० रुपैयाँ ५७ पैसा तोकेको छ । सरकारले तोकेको दुवै मूल्य अहिलेसम्मकै बढी भएको खाद्य संस्थानका अधिकारीहरूले बताएका छन् ।

गत वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल १९ सय ५० र मध्यम धानको मूल्य प्रतिक्विन्टल २२ सय रुपैयाँ रहेको थियो । धानको मूल्य बढाउँदा किसानलाई फाइदा पुग्ने भएको छ । यसवर्ष सरकारले तोकेको धानको समर्थन मूल्य किसानका लागि निकै आकर्षक रहेको कृषि विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए ।

नेपाल खाद्य संस्थानले तराईका किसानहरूबाट सधैँ धान खरिद गर्दै आएको छ । संस्थानले धान खरिद गरी आफ्ना विभिन्न डिपोहरूमा कुटानी गरेर हुम्ला, जुम्ला, मुगु, डोल्पा, बझाङ, बाजुरा लगायतका दुर्गम ठाउँहरूमा सुलभ मूल्यमा बिक्री वितरण गर्दै आएको छ ।

यसवर्ष सरकारले धान खरिदका लागि ९१ करोड रुपैयाँ छुट्याएको छ ।