ललितपुर। अर्थमन्त्री डा. युवराज खतिवडा कृषिजन्य वस्तुको उत्पादनमा नभई वितरणमा समस्या रहेको बताउँछन् । ‘सही ढंगले वितरण गर्ने हो भने खाद्यान्नमा हामी अहिले नै आत्मनिर्भर छौं’ नेपाल समाजशास्त्र संघद्वारा बुधबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने ।

मुलुकको कुनै भागमा उत्पादन भएको वस्तु निर्यात भइरहेको तर अर्को भागमा उत्पादन कम हुँदा आयात गरेर खानु परेको अर्थमन्त्री खतिवडाको भनाई छ । उनले किसानलाई लागत अनुसारको मुल्य तिर्ने बानी विकास गर्नुपर्ने बताए ।

अर्थमन्त्री खतिवडा थोरै जमिनमा, कम पानी र कम विषादी प्रयोग गरेर कसरी उत्पादन दोब्बर बनाउन सकिन्छ भन्ने विषयमा कृषि वैज्ञानिकहरूले सुझाव दिनसक्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘यान्त्रिकरण, उन्नत प्रकारको बीउ प्रयोग, पानी कम खपत हुने प्रविधिको विकास वा के गर्ने हो त्यो पनि कृषि वैज्ञानिकहरूले निश्कर्ष निकाल्नु पर्दछ ।’

अर्थमन्त्री खतिवडाले सस्कृति जस्तो कृषिलाई व्यवसायीकरण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै यसमा नविनतम प्रणालीको पनि उपयोग गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । नेपालमा कृषि क्षेत्रलाई समयसापेक्ष परिवर्तन गर्न नसकिएको भन्दै खतिवडाले कृषिसंग जोडिएका सरकारका नीतिहरु परिर्वतन गर्नुपर्ने जिकिर गरे ।

अन्तर्क्रिया कार्यक्रममा भूमिको समान वितरण, प्रयोग, पुनर्संरचनाको विषयमा युवराज लुइँटेल र पूर्ण नेपाली, कृषिक्षेत्रका महिलाको समस्याबारे यमुना घले र खाद्य सुरक्षाको विषयमा विष्णुराज उप्रेती कार्यपत्र प्रस्तुत गरेका थिए ।