धनकुटा। व्यावसायिक एभोकाडो खेतीबाट धनकुटाको कृषि पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यले धनकुटा बजारमा प्रथम एभोकाडो महोत्सव हुने भएको छ ।

धनकुटा नगरपालिकाको आयोजनामा सम्पन्न हुन लागेको उक्त १ दिने महोत्सवमा २० ओटा एभोकाडोका स्टल रहने जानकारी दिइएको छ । आगामी शनिवार धनकुटा बजारको परिचय मोड क्षेत्रमा हुने उक्त महोत्सव एशियाकै पहिलो महोत्सव भएको नगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईले जानकारी दिए ।

धनकुटा बजारको परिचय मोडमा ३० लाख लागतमा निर्मित एभोकाडो स्तम्भ र पार्कको उद्घाटनसँगै महोत्सवको आयोजना गरिने राईले जानकारी दिए । महोत्सवमा सहभागी किसानलाई प्रोत्साहन स्वरूप प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने ६ जना किसानलाई पुरस्कारको समेत व्यवस्था गरिएको उनले जानकारी दिए । पुरस्कारस्वरूप क्रमशः १५ हजार, १० हजार, ५ हजार र ३ हजार रुपैयाँ दिइने नगरपालिकाले जानकारी दिएको छ ।

एभोकाडोको खेतीलाई प्रवर्द्धन गर्न नगरपालिकाले धनकुटालाई ‘एभोकाडोको राजधानी’समेत घोषणा गरेको छ । नगरपालिकाको घोषणासँगै प्रतिकेजी ५० रुपैयाँमा बिक्दै गरेको एभोकाडो अहिले धनकुटामा १ सय ५० रुपैयाँ पुगेको छ ।

२०२८ सालमा बेलायत सरकारले धनकुटाको पाख्रिबास कृषि अनुसन्धान स्थापना गरेसँगै बेलायती नागरिकले रोपेर फैलिएको एभोकाडो हाल धनकुटा नगरपालिका क्षेत्रमा २५ हजार फल दिने बोट रहेको नगरपालिकाको तथ्याङ्क छ ।