चितवन। कृषि तथा वन विज्ञान विश्व विद्यालयका आन्दोलनरत पक्षले उपकुलपति ईश्वरी प्रसाद ढकालको बर्खास्तीको माग गरेका छन्।

मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको निर्णय तथा निर्देशन कुलपतिले अवज्ञा गरेको भन्दै बर्खास्त गर्न माग गरेका हुन्।

निजी कलेहरूलाई भर्ना सुरु गरेको निर्णयबाट आन्दोलनमा उत्रेका प्राध्यापक तथा विद्यार्थी संगठहरूले विश्वविद्यालयमा विरोधका कार्यक्रम जारी राखेका छन्। ‘माफियाले विचौलियालाई उपयोग गरेर भ्रष्ट नेता र विश्वविद्यालयका पदाधिकारीलाई विभिन्न प्रलोभनमा पारी निजी कलेजको सम्बन्धन लिने प्रकिया अगाडि बढाएको’ विज्ञप्तीमा उल्लेख छ।

कृषि र वन विश्वविद्यालयले गत असारमा आठ ८ कलेजलाई सम्बन्धन दिएको थियो। अपारदर्शी, कमजोर मापदण्ड र फितलो अनुगमन मार्फत ८ निजी कलेजलाई सम्बन्धन दिएको भन्दै प्राध्यापक र विद्यार्थीहरुले २७ दिन लामो आन्दोलन गरेका थिए।

लगातारको आन्दोलनपछि मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेको थियो।

निजी कलेजको सम्बन्धनलाई स्थगन गरेपछि सम्बन्धन पाएका एक सञ्चालकले सर्वोच्चमा मुद्धा दायर गरेका थिए।

सर्वोच्चले उक्त मुद्धालाई हेर्दाहेर्दैमा राखेको थियो। आन्दोलनरत पक्षले नक्कली कागजातका आधारमा सरकारी वकिलले मुद्धामा वहस गरेको आरोप लगाएको छ। ‘पुरानो मिति राखेर कागज पत्र मिलाइ सर्वोच्च अदालतमा मुद्दा हाल्न सफल भए। सो मुद्धा अहिले सर्वोच्चमा विचाराधिन छ,’ विज्ञप्तीमा भनिएको छ।

अग्राधिकार प्राप्त मुद्धाको फैसला पौष २६ मा हुने बताइएको छ। पूर्ण फैसला नआउँदै निजी कलेजहरूले भर्ना आवेदन गरिएको सुरु गरेका छन्।

भर्ना आवेदन खुला गरेपछि त्यसको विरोधमा प्राध्यापक, विद्यार्थी आन्दोलित भएका थिए। आन्दोलनका कारण विश्वविद्यालयको भौतिक क्षति हुने गरी भएको छ। आन्दोलनका क्रममा आगजनी र तोड्फोड भएको थियो।

चलखेलमार्फत सम्बन्धनमा प्रकृया मिचिएको आन्दोलनरत पक्षको ठहर छ। सम्बन्धन दिने क्रममा गरिएको फिल्ड अनुगमन प्रतिवेदन बनावटी भएको आन्दोलनरत सह प्राध्यापक डा. इश्वरी प्रसाद कडरियाले बताए।