गौशाला। महोत्तरी सदरमुकाम जलेश्वरमा छठ पर्वका लागि व्यवसायीले भारतबाट रू. ४० लाखको केरा आयात गरेका छन् । सोमवार जलेश्वरमा लाग्ने हाटबजारका लागि सो केरा आयात गरिएको हो ।

अघिल्लो वर्ष छठ पर्वका लागि भारतबाट रू. ३० लाखसम्मको केरा आयात गरिएको केरा व्यवसायी गणेश साहले बताए । यहाँका केरा व्यापारीले यस वर्ष सामूहिक रूपमा २५ ट्रक केरा आयात गरेका थिए । ट्रकको भाडा उनीहरुले मिलेर तिर्ने गरेका छन् । यसअघि छठ पर्वमा भारतबाट झण्डै १५ ट्रकसम्म केरा आयात गरिँदै आएको थियो । जलेश्वर बजारमा प्रतिघार केरा रू। चार सयदेखि रू। आठ सयसम्ममा विक्री भइरहेको छ ।

तालतलैया सिँगारिए :
छठ पर्वको लागि महोत्तरीका नदी, पोखरी र ताल तलैया दुलहीझैँ सिँगारिएका छन् । करीब सात लाख जनसङ्या रहेको जिल्लाका रातु, बाँके, महरा, औंकशी, जङ्घा, कुटमेश्वरी, विग्हीलगायतका नदी, पोखरी तथा तालतलैया दुलहीझैँ सिँगारिएका छन् ।

प्रत्येक नदी, पोखरी र तालतलैयामा छठ घाट निर्माण गरिएको छ । अधिकांश घाटमा ठूल–ठूला पण्डाल, कलात्मक गुफा र सूर्य भगवानको मूर्ति निर्माण गरिएको छ भने सबै घाटलाई झिलिमिली बत्ती र झकीझकाऊका वस्तुले सजाइएको छ ।

धेरैजसो ठाउँमा नाचगान, नाटक र सांस्कृतिक कार्यक्रमको पनि व्यवस्था गरिएको छ । मङ्गलवार साँझ छठ पर्वका लागि घाटमा अघ्र्य दिन जानुअघि सोमवारै जिल्लाका प्रत्येक घाटलाई सिँगारिएको छ ।