बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बिउ वितरण गरेको छ।

नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार नगरपालिकाभित्रका किसानलाई ४० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरिएको हो।

आनन्दवन सहकारी संस्था लिमिटेडले अनुदानको गहुँ बिउ विक्री सुरू गरेको छ भने कोटिहवास्थित जनविकास सहकारी संस्था लिमिटेडले केही दिनभित्रै विक्री सुरू गर्ने जनाएको छ।

आनन्दवन सहकारीले वडा नम्बर १ देखि १० र जनविकास सहकारीले वडा नम्बर ११ देखि १७ सम्म अनुदानको बिउ किसानलाई विक्री गर्नेगरी व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ।

मंगलबार मणिग्रामस्थित आनन्दवन सहकारी संस्थामा आयोजित कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरेले बड्का केवट, हरि कँडेल र टेका प्रसाद अर्याललाई एकरएक बोरा बिउ उपलब्ध गराएर कार्यक्रमको सुरू गरेका हुन्।

गहुँको बिउ वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख घिमिरेले किसानलाई व्यवसायिक बनाउन र जमिन बाँझो नरहने विश्वास व्यक्त गरे।

नगरपालिकाले दुई सहकारीको सहकार्यमा सिफारिस गरिएको उन्नत जातको सुधारिएको गहुँको बीउमा किसानलाई अनुदान दिएको हो।

नगरपालिकाले अनुदानका विषयमा व्यवस्था मिलाउन १४ नम्बर वडाध्यक्ष सोहनप्रसाद थारुको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

यस वर्ष करिब ७ सय क्विन्टल गहुँको बिउ किसानहरूलाई अनुदानमा वितरण गर्ने योजना रहेको नगरप्रमुख घिमिरेले बताए।

बिउ लैजान चाहने किसानले जग्गाको लालपूर्जा वा वडा कार्यालयको सिफारिसको आधारमा बिउ प्राप्त गर्न सक्ने छन् ।