बुटवल। नेपाली च्याउ उत्पादक किसानले भारतीय च्याउको आयातले मारमा परेको गुनासो गरेका छन् । उनीहरुले भारतबाट अवैधरुपमा आयात भैरहेको च्याउ रोकिनुपर्ने माग राखेका हुन् ।

ढुसीजन्य बस्तु आयात गर्दा क्वारेन्टाइनमा ल्याव परीक्षण गर्नुको सट्टा ५ देखि १० मिनेट भित्रमा नै च्याउ क्वारेन्टाइन गरी भित्रिदा नेपालमा रोेग पनि भित्रिने उनीहरुको दाबी छ ।

बुटवलमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरुले सरकारले यसमा समयमै ध्यान दिनुपर्ने भन्दै आफ्ना १९ बुँदे माग सम्बोधन गर्न समेत आग्रह गरे ।

नेपाल च्याउ उत्पादक किसान महासंघका केन्द्रीय अध्यक्ष प्रेमनारायण अधिकारीले भारतबाट अवैधरुपमा आयात भैरहेको च्याउ रोकिनुपर्ने बताए । नेपाली च्याउ उत्पादक किसानहरुबाट उत्पादन गरिएको च्याउको बजारीकरणमा सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

उनले नेपालमा वार्षिक ८० लाख किलो कन्ये च्याउ र २७ लाख किलो गोब्रे च्याउ उत्पादन भैरहेको बताए । वार्षिक २ अर्बको कारोबार हुने र ५० हजार जनाले यसमा रोजगारी पाएको अधिकारीले बताए ।

च्याउ उत्पादक किसान संघ रुपन्देहीका अध्यक्ष तथा केन्द्रीय सदस्य गंगाधर शर्माले सरकारले च्याउ नीति नबनाउँदा थप समस्या भएको बताए । छिटो समयमा नै नष्ट हुने च्याउको भण्डार तथा बजारीकरणमा सरकारले ठोस कदम चाल्न नसकेको गुनासो उनको छ । च्याउ नीति बनाएर च्याउ क्षेत्रको विकासको लागि प्रदेश, स्थानिय र केन्द्रीय सरकार लाग्नुपर्नेमा उनले जोड दिए ।

यसैबीच रुपन्देहीमा रहेका च्याउ उत्पादक किसानहरुको भेलाबाट च्याउ उत्पादक किसान संघ रुपन्देही गठन गरिएको छ ।

जसको अध्यक्षमा स्पीन्जर च्याउ र्फम कञ्चन रुपन्देहीका अध्यक्ष गंगाधर शर्मा चयन भएका छन् ।