ललितपुर। राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले सिफारिस गरेकामध्ये सात मकैका जात सूचीबाट हटाएको छ । उपयुक्त नयाँ जातको विकाससँगै पुराना सिफारिस भएका हेटौँडा कम्पोजिट, सर्लाही सेतो, जानकी मकै, ककनी पहेँलो, रामपुर– १, मकालु २ र रामपुर पहेँलोलाई सूचीबाट हटाइएको हो ।
अनुसन्धान कार्यक्रमका प्रमुख डा केशबबाबु कोइरालाका अनुसार हालसम्म ३७ मकैका जात सिफारिस भएका छन् । विसं २०२९ मा सो कार्यालयको स्थापना भएको हो । पुराना जातको मकै लगाउँदा उत्पादन कम तथा रोग लाग्न थालेपछि तिनलाई सूचीबाट हटाइएको हो ।
रामपुरमा विकास गरिएकामध्ये हाल ३० मकैका जात मात्र प्रयोगमा ल्याइएको छ ।
प्रयोगमा ल्याइएकामध्ये सात वर्णसङ्कर जात छन् भने अन्य खुला सेचित छन् । वर्णसङ्कर रामपुर दुई, रामपुर चार, रामपुर ६, रामपुर आठ, रामपुर १० र खुमल दुई छन् । अन्य खुला सेचित जात हुन् ।
हरेक वर्ष नयाँ बीउ प्रयोग गर्नुपर्छ भने सेचितको दुई–तीन वर्ष एउटै बीउ प्रयोग गर्न मिल्छ । “यस वर्ष दुई जातको सिफारिस गर्ने तयारीमा छौँ,” कोइरालाले भने । सिफारिस गर्न लागिएकोमा एउटा वर्णसङ्कर जात तथा अर्को खुला सेचित छ ।
एउटा जातको विकास गर्न आठदेखि १० वर्ष लाग्छ । सो कार्यालयका वरिष्ठ वैज्ञानिक चित्रबहादुर कुँवरका अनुसार विकास गरिएका जातमध्ये तराई भित्री मधेश, खोँच, टार र बेँसीमा लगाउनका लागि धेरै जातको नाम रामपुर राखिएको छ मध्यपहाडी भेगमा मनकामना र उच्च पहाडी क्षेत्रका लागि गणेश जातको विकास गरिएको छ । तिनै नामको पछाडि अङ्क राखेर मकैको जातको नामकरण गरिएको छ । जोर अङ्क पहेँलो तथा बिजोर अङ्क सेतो मकैको जात हो ।
चाँडै पाक्ने जातका रुपमा अरुण जातको विकास गरिएको छ । सन् २०१७ मा पोषण बढी पाइने पोसिलो दुई जातको विकास गरिएको छ । कुँवरकाअनुसार तराई र भित्री मधेशमा रामपुर कम्पोजित बढी लगाइन्छ ।
रामपुर कम्पोजिट जातको मकै प्रति हेक्टर सात टनसम्म उत्पादन भएको उनको भनाइ छ । मध्य पहाडमा मनकामना तीन, देउती, पोषिलो मकै एक र शीतला बढी प्रयोगमा छ । तिनको उत्पादन प्रति हेक्टर ६ दशमलव ८ टन रहेको छ । उच्च पहाडी भेगमा गणेश १ र गणेश दुई जातको मकै लगाउने गरिएको छ ।
तराई र मध्य पहाडका लागि अरुण दुई जातको मकैको विकास गरिएको छ । नेपालमा नौ लाख हेक्टरमा मकै लगाइन्छ । मकै उत्पादन प्रति हेक्टर दुई दशमलव ५३ टन छ ।
किसानले उन्नत जातको मकै मेहनतका साथ लगाउन सकेमा हालको उत्पादन दोब्बर बढाउन सकिने कोइराला बताउँछन् । उनले भने, “उपयुक्त मकैको जात हामी दिन्छौं, व्यवस्थापनको दायित्व किसानले लिनु पर्यो ।”