
नवलपरासी। दुग्ध विकास संस्थान (डीडीसी)ले दूध उत्पादनमा अधिक वृद्धि भई बजारमा खपत कम भएको कारण देखाउँदैै दूध नउठाएपछि नवलपरासीका दुग्ध किसान मारमा परेका छन् ।
डीडीसीले शनिबारदेखि नै दूध लिन छोडेपछि नवलपरासीमा रहेका ठूला डेरीले किसानका दूध खपत गर्न नसक्ने भन्दै मिल्क होलि डे को सूचना नै टाँस गरेर दूध लिन नसक्ने जनाएका छन् ।
सिताराम गोकुल मिल्कले दैनिक पाँच सय लिटर मात्रै उठाउन सक्ने जनाएको र बुटवल दुग्ध आयोजनाले पनि फोन मार्फत् दूध नपठाउन भनेको पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ चौपत्तामा रहेको चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्थाका ब्यवस्थापक विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्थाले आइतबार नै मिल्क मिल्क होली डे को सूचना टाँसेर किसानको दूध लिएको छैन । सहकारीले अहिले करिब दुई हजार किसानबाट दैनिक ६ हजार लिटर दूध संकलन गर्दै आइरहेको छ । किसानबाट संकलन गरेको दूध सहकारीले २५ सय लिटर स्थानीय बजारमा खपत गर्ने गरेको छ भने तीन हजार ५०० लिटर दूध डीडीसी र सिताराम गोकुल मिल्कलाई बिक्री गर्दै आइरहेको छ ।
चन्द्रोदय सहकारीले चौपत्ता, भुजहवा, पुसौली र मझौनीमा दूध संकलन केन्द्रसँगै चिस्यान केन्द्रसमेत सञ्चालन गर्दै आइरहेको छ । अहिले चन्द्रोदय सहकारीकोे दैनिक ९ हजार ५०० लिटर दूध चिस्यान केन्द्रमा राख्न सक्ने क्षमता रहेको छ ।
डेरीले दूध खपत नगरेपछि दुग्ध किसानले दूध पोख्नुपर्ने अवस्थाको सृजना भएको छ । बर्दघाट १४ का किसान कमल ढकालले दूध खपत नभएपछि अब बाटोमा पोख्नु बाहेक अरु विकल्प नरहेको बताए । उनले भने ‘हामी साना किसान नै जहिले पनि मारमा पर्नुपर्ने ठूला संस्थानले दूध लिन्नौं भने पुग्ने किसानको मेहेनत र लगानी खेर गएको कसले हेर्छ । ’
यस्तै अर्का किसान लक्षमण हमालले पनि दूध खपत नहुँदा आफूहरु मारमा परेको गुनासो गरे ‘बर्षैपिच्छे हामी किसानले यो समस्या झेल्दै आएका छांै, सरकार र सम्बन्धित निकायले यस समस्याको दीर्घकालीन समाधान किन सोच्दैन । हाम्रो दूध खपत नभएपछि हामीले ऋण कसरी तिर्ने घरपरिवार कसरी चलाउने । ’ हमालले भने । यहाँका किसान र दुग्ध डेरीले तत्काल यस समस्याको निकास निकाल्न माग गरेका छन् ।
‘अहिले दूध कम उत्पादन हुने सिजनमानै मिल्क होलिडे हुने अवस्था आएपछि पुस महिनासम्म उत्पादन बढ्छ त्यसबेला कसरी ब्यवस्थापन गर्ने ? ’ सहकारीका अध्यक्ष पूर्णप्रसाद तिमिल्सिनाले भने । तिमिल्सिनाले राज्यले बेलैमा ध्यान दिन नसके झनै विकराल अवस्थाको सिर्जना हुन सक्ने बताए ।
पाइलट कार्यक्रमअन्तर्गत दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर एक रुपैयाँ अनुदान उपलब्ध गराएर एकातर्फ किसानलाई प्रोत्साहन गर्न खोजेको र अर्को तर्फ किसानले एक रुपैयाँ अनुदान पाउँदै गर्दा ५० रुपैयाँको दूध पोख्नुपर्ने अवस्था सिर्जना भएकोले राज्यले सहीरुपमा ब्यवस्थापन गर्न नसकेको तिमिल्सिनाले बताए ।
नवलपुरको कावासोती आडमा रहेको एकीकृत दुग्ध विकास सहकारी संस्थाका व्यवस्थापक पदमप्रसाद शर्मा भुषालले पनि केही दिनभित्रै नवलपुर क्षेत्रमा पनि मिल्क होलि डे को अवस्था आउन सक्ने बताए ।
संस्थाले अहिले सीताराम र हेटौडाको दूग्ध डेरीमा दुध पठाइरहेको छ । सीतारामले दूध खपत केही कम गर्दै गइरहेको र बजारमा पनि दूध खपत कम हुँदै गएकाले किसान मारमा पर्ने अवस्था आउन सक्ने बताएका छन । यस समस्याको दीर्घकालीन समाधानका लागि सरकारले ठोस कदम चाल्न आवश्यक रहेको उनी बताउँछन् ।
नेपालमा अहिले दैनिक एक लाख लिटर दूध कम भइरहेको तथ्याङ्क छ । तर, नेपाली किसानले दूध सडकमा पोख्नु पर्ने अवस्था आउनु
दु स्खद रहेको भुषालले बताए । बाहिरबाट आउने पाउडर दूधको आयत कम गरी सरकार र दुग्ध संस्थानहरुले नै पाउडर प्लान्ट सञ्चालन गर्न सके किसानलाई राहत मिल्ने उनी बताउँछन् ।