प्यूठान। युवाहरू रोजगारीका शिलशिलामा विदेश पलायन भइरेहका बेला दक्षिणी प्यूठानको सरुमारानी गाउँपालिका–४ साविकको ढुङ्गेढी–१ बडडाँडाका ३८ वर्षीय योगेश सारूले स्वदेशमै व्यावसायिक बङ्गुर पालन गरी आम्दानी गर्न सफल भएका छन् ।
बडडाँडा निवासी सारूले उन्नत जातको बङ्गुर उत्पादन गर्ने उद्देश्यले आधुनिक मङ्गोलियन बङ्गुर फार्म स्थापना गरी व्यावसायिक रूपमा शुरू गरेका हुन् ।
करीब १ रोपनी क्षेत्रफलमा उनले आधुनिक फार्म बनाइ व्यावसायिक बङ्गुरपालन व्यवसाय गरेका हुन् । उनले फार्ममा लेण्ड्रेस, ड्युरो र पाख्रिवासे कालो बङ्गुर गरी विभिन्न ३ जातका ६५ ओेटा बङ्गुरका पाठापाठी पालेका छन् । ३ वर्षअघि २ लाख रुपैयाँ लगानीबाट शुरू उक्त फार्ममा अहिले २० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको कृषक सारूले बताए ।
सारूले केही वर्ष अघिसम्म सामान्य रूपमा दुई चारओटा बङ्गुर पालेका थिए । त्यसबाट आम्दानी हुन थालेपछि आफू व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएको उनले बताए ।
बिहानदेखि बेलुकासम्म आफ्नै बङ्गुर फार्ममा खट्ने गरेका छन् । सारूले व्यवस्थापनमा लाग्ने सबै खर्च कटाएर मासिक ४० हजार रुपैयाँ बचत गर्ने गरेका छन् ।
बङ्गुरको उत्पादन बढ्न थालेपछि उनले आफ्नै लगानीमा स्थानीय बजारमा फ्रेस हाउससमेत सञ्चालन गर्दै आएका छन् । उनले भने, ‘फ्रेसहाउसबाट दैनिक ४० किलोग्राम मासु विक्री गर्दै आएको छु ।’ प्रतिकिलो २ सय ८० रुपैयाँमा मासु विक्री गर्ने गरेका छन् । मासु काटेर विक्री गर्दा मासिक २० हजार आम्दानी गर्ने सारूले बताए ।
बजार क्षेत्रमा बङ्गुरको मासु खपत अत्यधिक हुने गरेको छ । बङ्गुरको पाठापाठी र मासु काटेर बेच्दा अहिले महीनामा ६० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
सम्बन्धित निकायको सहयोग पाए अबको केही महीनापछि फार्ममा केही बङ्गुरका पाठापाठी थप गर्ने र व्यवसायलाई विस्तार गर्ने योजनामा रहेको सारूले बनाएका छन् ।
पाठापाठी उत्पादनका लागि फार्ममा विभिन्न उन्नत जातका १८ ओटा माउ बङ्गुर पालेका छन् । एउटा माउ बङ्गुरले एकपटकका ८ देखि १० ओटासम्म पाठापाठी पाउँछन् । राम्रोसँग पालनपोषण र आहार दिन सकेमा बङ्गुरले १५ महीनामा ३ पटक बच्चा उत्पादन गर्न सक्ने उनको भनाइ छ ।
जन्मिएको ४० दिनभित्र पाठापाठी विक्री गर्न योग्य हुने बताए । त्यस्ता पाठापाठीलाई प्रतिगोटा ४ हजार रुपैयाँसम्ममा विक्री गर्ने गरेको उनले बताए । उनले उत्पादन गरेका पाठापाठी प्यूठान र रोल्पा जिल्लामा विक्री हुँदै आएको बताए ।
एउटा बङ्गुर करीब १० महीना पाल्दा २५ हजारदेखि ३० हजारमा विक्री हुने गर्छ । ‘महीनामा १५ ओटाभन्दा बढी बङ्गुरका पाठापाठी विक्री गर्दै आएको छु,’ उनले भने । अहिले जिल्ला स्थित गैह्रसरकारी संस्थाले समेत बङ्गुरपालक कृषकलाई तालीम दिन परे आफूलाई बोलाउने गरेको सारूले बताए ।