ललितपुर। न्यून गणस्तरिय खाद्य सामग्री बेच्ने संगम स्वीट्समा शिलबन्दी गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण महाशाखा, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र उपभोक्ता अधिकार मञ्चको संयुक्त टोलीले बानेश्वरमा रहेको संगम स्वीट्समा मङ्गलबार शिलबन्दी गरेको हो ।

संगम स्वीटस्को आउटलेटमा प्याकेजिङमा लापरबाही गरेको, सरसफाई नगरेको, समोसा, जेसी, पुरी लगायतका खाद्यान्न बनाउन प्रयोग हुने तेल, घिउ गुणस्तरहीन देखिएको भन्दै आउटलेटबाट सम्पूर्ण सामग्री बिक्री वितरणमा रोक लगाइएको छ । यसरी प्रयोग हुने तेलमा पोलारिटीको मात्रा तेलमा ३८ दशमलब ५ र घीउमा ३८ पाइएको छ । जबकी स्वच्छ तेलमा अधिकतम पोलारिटी २५ हुनुपर्छ ।

७ वर्ष अघि म्याद नाघेका सामग्री पनि प्रयोग :

यता शान्तिनगर मिलन चोकमा रहेको संगमकै उत्पादन केन्द्रमा फोहर रहेको र सन् २०११ सालमा बनेको कोकोनट पाउडर प्रयोग गरेको पाइएपछि कारखाना शिलबन्दी गरिएको छ । ४ महिनासम्म मात्रै प्रयोग गर्न सकिने त्यस्तो पाउडर ७ वर्ष अर्थात स्न् २०१८ सम्म पनि प्रयोग भइरहेको पाइएको छ ।

लुगा चम्काउन प्रयोग हुने हाइड्रो खाद्यान्नमा प्रयोग :
यसैगरी कपडा सफा गर्न प्रयोग हुने हाइड्रो पनि खाद्यान्नमा प्रयोग भएको पाइएको छ । चिनीमा हुने कालो पदार्थ हटाउनलाई हाइड्रो प्रयोग गरिएको पाइएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमस्सिनाले बताए । यस्तो पदार्थको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भए पनि प्रयोग भइरहनु दुखद भएको तिमल्सिनाले बताए ।

यो हाइट्रो नेपालमा प्रतिबन्धित पनि छ । अनुगमन टोलीले म्याद नाघेका खाद्यान्न जफत गरी मिठाइ उत्पादन कारखाना र भण्डार कोठामा शिलबन्दी गरेको छ । यता बानेश्वर स्थित आउटलेटबाट पनि अखाद्य पदार्थ मिसिएका मिठाइ करिब ३० केजी नियन्त्रणमा लिएको छ ।

के हुन्छ कारबाही ?

खाद्य गुणस्तर कायम नगर्ने र गुणस्तरहीन खाद्यसामग्री बेच्नेलाई नयाँ नियमअनुसार कारबाही गरिने खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिए । संगम स्वीटलाई न्यून गुणस्तरीय आद्यान्न बेचेको अभियोगमा मुद्दा दायर गरिने पनि उनले बताए । यसलाई विभागले ३ दिन भित्र कागजातसहित महाशाखामा उपस्थित हुन आदेश दिएको छ ।

नयाँ ऐन अनुसार गुणस्तर कायम नगर्नेलाई ५० हजार जरिवाना तथा ५ वर्षसम्म जेल सजाय हुने प्रावधान रहेकोले सोही अनुरुप कारबाही गरिने सुवेदीले बताए ।

यो अनुगमनको प्रकृयालाई अब निरन्तरता दिइने खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले बताए । कृषि मन्त्रीले खाद्य स्वच्छता अभियान सुरुवात गरेपछिको यो पहिलो अनुगमन हो ।