
बागलुङ। बागलुङका ग्रामीण क्षेत्रका किसान पुरानो अन्नबाली मासेर अलैंची खेती गर्न थागेका छन् । खाली जमीन र खोल्साखोल्सीमा अलैंची खेती गर्दै आएका किसान पछिल्लो समय परम्परागत अन्नबाली कम गर्दै अलैंची खेतीतर्फ लागेका हुन् ।
बागलुङको ताराखोला गाउँपालिकाअन्तर्गत अमरभूमि, अर्गल, हिल र ताराखोलालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अलैंची पकेट क्षेत्र घोषणा गरेपछि किसानले खेतीयोग्य जमीनमा अलैंचीका बिरुवा लगाउँदै आएका छन् । सो क्षेत्रमा आव २०४८/४९ अलैंची खेती गरिएको थियो । तत्कालीन अवस्थामा युद्धको कारण अलैंची खरीद गर्न व्यापारी आउन छाडेकाले अलैंची खेती विस्थापित भएको स्थानीय किसान हिरासिङ रोकाले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अलैंची खेती पकेट क्षेत्र घोषणा भएपछि ताराखोला गाउँपालिका–२ अर्गलमा ५० जना किसान अलैंची खेतीमा आबद्ध भएका छन् । सो क्षेत्रका किसानले सामुदायिक तथा व्यक्तिगत रूपमा अलैंची खेती गर्दै आएका छन् ।
गत आवमा ताराखोला गाउँपालिका–२ अर्गलका किसानले ५ क्विण्टल अलैंची उत्पादन गरी ४ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको नवसृजनशील अलैंची विकास समूहका अध्यक्ष गजिन्द्र घर्तीले जानकारी दिए ।
गत आवमा अलैंची खेतीको विस्तार र विकास गर्न ताराखोला गाउँपालिकाले नवसृजनशील अलैंची विकास समूहलाई ७ लाख २० हजार रुपैयाँ अनुदान प्रदान गरेको अध्यक्ष घर्तीले बताए ।
विनियोजित रकमबाट अर्गलमा इलामदेखि भार्लाङ जातको अलैंचीका बिरुवा ल्याई वडा नम्बर २ का किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको संस्थाका सचिव इन्द्रबहादुर घर्तीले बताए । चालू आवमा गाउँपालिकाले ८ लाख रुपैयाँ विनियोजन गरी गाउँपालिकाअन्तर्गतका विभिन्न वडामा अलैंची खेती विस्तार गर्ने योजना बनाएको छ ।