ललितपुर। सरकारले ‘खाद्य स्वच्छता तथा गुणस्तर अभियान’ सुरु गरेको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले बिहिबार काठमाडौंमा एक कार्यक्रमका बीच सो अभियान शुभारम्भ गरेका हुन्। दूध, खानेपानी र खाने तेललगायतका वस्तुको स्वच्छता र गुणस्तरबारे व्यापक जनचेतना फैल्याउने उद्देश्यका साथ अभियान सुरु गरिएको मन्त्री खनालले स्पष्ट पारे।

प्रदेश सरकार र आम उपभोक्तालाई समेत सरकारले चालेको काममा सहयोग गर्न उनले आग्रह गरे। भर्खरै बनाइएको दूधसँग सम्बन्धित निर्देशिका लागू गराउन पनि मातहतका निकायलाई उनले सचेत गराए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। नेपालमा खाद्य स्वच्छताको अवस्था नराम्रो भएपछि सरकारले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी अभियान संचालन गर्नु परेको उनले बताए।

कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौंधरीले खाद्य वस्तुमा मिसावट हुन नदिन स्थानीय र प्रदेश सरकारलाई पनि व्यापक अभियान संचालन गर्न आग्रह गरिन्। दसैंको मुखमा खाद्य वस्तुमा मिसावट हुन नदिन सरकारले खाद्य स्वच्छता तथा गुणस्तर अभियान सूरु गर्नु परेको उनको धारणा थियो।

सो कार्यक्रममा प्रदेशबाट आएका मन्त्रीहरुलाई पनि यो अभियान तलसम्म लैजान कृषि मन्त्री खनालले आग्रह गरे ।

कर्णाली प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले प्रदेशसरकार मार्फत यो अभियानलाई तलसम्म पुर्याउने बताए ।

५ नम्बर प्रदेशकी मन्त्री आरती पौडेल र प्रदेश नम्बर २ का कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री शैलेन्द्र शाहले मन्त्रालयले ल्याएको यो आयोजनालाई आफ्नो प्रदेशमा लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।