
ललितपुर। कृषि तथा पशुपन्छि मन्त्रालयका सचिव युवकध्वज जीसीले औजार बितरण कार्यालय खोल्ने तयारी भैरहेको बताउनु भएको छ ।
राष्ट्रिय कृषक समूह महासंघको ५ औँ सामाजिक लेखाजोखा कार्यक्रममा बोल्दै कृषि सचिव जीसीले यस्तो बताउनु भएको हो । सो अवसरमा उहाँले कृषिमा यान्त्रीककरण नभएको भन्दै सातै प्रदेशमा ‘कस्टम हायरिङ सेन्टर’ का रुपमा कृषि औजार वितरण गर्न पहल भइरहेको बताउनुभयो ।
कृषिलाई अघि बढाउन र यसमा युवाहरुको सहभागिता बढाउन यान्त्रीकिकरण आवश्यक रहेको र त्यसले सरकारले ५ वर्षमा कृषिमा आत्मनिर्भर हुने उहाँको दावी थियो । कार्यक्रममा महासंघले गत वर्ष २०७४÷७५ सालको आर्थिक विवरण पेश गरिएको थियो ।
महासंघकी कोषाध्यक्ष रीता बस्ताकोटीले गत वर्षको आर्थिक प्रतिवेदन पेश गरेकी थिइन । उनले गत वर्षको आय २ करोड ३४ लाख ६४ हजार ४ सय १९ रुपैयाँ भएको जानकारी दिइन् । यस्तै गतवर्ष १ करोड ७६ लाख रुपैयाँ बराबर खर्च भएको उनले बताईन ।
यो वर्षको अनुमानित बजेट खर्च २ लाख रुपैयाँ रहेको महासंघका अध्यक्ष उद्धव अधिकारीले जानकारी दिए । उनले कृषिमा सरकारले ५ वर्ष भित्र आत्मनिभर हुने भनेपनि त्यसमा धेरै चुनौति रहेको बताए ।
महासंघको पाँचौ लेखाजोखा कार्यक्रममा सहभागि अधिकांश किसानहरुले महासंघले किसान तहसम्म पुगेर आयआर्जन तथा कृषिमूलक कार्यक्रम गर्न सहयोग गरेको बताएका थिए ।
कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीले महासंघले किसानको आर्यआर्जन तथा रोजगारी सिर्जना गर्नमा महत्वपूर्ण भूमिका खेलेको र आगामी दिन महासंघले मूल्य श्रृंखला, बजार व्यवस्थापन, मूल्य र प्रविधिको प्रयोगमा समेत आम किसानलाई आकर्षित गर्न आग्रह गरे ।