
चितवन। १४ करोडको लागतमा चितवनको नारायणगढमा व्यापारीहरुले नयाँ तरकारी तथा फलफुल बजार निर्माण गरेका छन् । सो तरकारी बजारको नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एक समारोहका बीच आज (आईतबार) उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दे प्रचण्डले सरकारले कृषिमा ब्यवसायिकीकरण र आधुनिकिकरणको अवधारण प्रथामिकतामा राखेको भन्दै उनले कृषिका जोन र ब्लकहरुले कृषि बजारलाई सहयोग पुर्याउने दाबी गरे ।
यसअघि नारायणगढको लायन्स चोकमा रहेको तरकारी बजार साँघुरो र अव्यवस्थित भएपछि व्यवसायीहरुले १४ करोड लगानीमा भरतपुर महानगरपालिकाको क्षेत्रपुरमा नयाँ तरकारी बजारको स्थापना गरेका हुन् ।
क्षेत्रपुरमा रहेको नयाँ तरकारी बजार निर्माणका लागि ब्यापारीहले १०-१० लाख रुपैयाँ सेयर लिएको नयाँँ तरकारी बजारप्रालिका अध्यक्ष शालिकराम घिमिरेले जानकारी दिए ।
के के व्यवस्था छ तरकारी बजारमा ?
तरकारी बजारमा दुई वटा रेष्टुरेण्ट, शौचालय तथा खानेपानीको समेत व्यवस्था छ । किसानले आफ्नो उत्पादन बजारमा लगेर सिधै उपभोक्तालाई बिक्री गर्न पाउन भन्ने उद्देश्यले नयाँ तरकारी बजारसञ्चालनमा ल्याइएको हो ।
लायन्सचोकको तरकारी बजारमा १६४ वटा सटर रहेका थिए भने नयाँ बनेको तरकारी बजारमा २१७ वटा सटर छन् । व्यवसायिक प्रयोजनका २८, थोकका लागि १३७, खुद्रा व्यवसायका लागि ३८ र किसानका लागि १४ वटा सटर रहने छन् ।
नयाँ बजारमा कति हुन्छ कारोबार ?
२०५० सालदेखि सञ्चालनमा आएको लायन्सचोकको थोकबजारमा दैनिक १ करोड बराबरको फलफूल तथा तरकारीको कारोबार हुँदै आएको थियो । नयाँ बजारमा दैनिक २ करोडको कारोबार हुने अपेक्षा व्यवसायीको छ ।
१६ जिल्लाबाट चितवनमा तरकारी आउने र ती तरकारी काठमाडौंसहित गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, धादिङ, कास्की, रुपन्देही लगायतका जिल्लामा बिक्रीका लागि लैजाने गरिएको छ ।