ललितपुर। नेपालीहरूको महान् चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौंलगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ।

काठमाडौं महानगरपालिकाले विशेष गरी राजधानी भित्रिने पशु–पक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिन लागेको जनाएको छ।

महानगरपालिकाले राजधानी भित्रिने खसी, बोका, राँगो, भैंसी स्वस्थ छन् कि छैनन् भनेर परीक्षण गर्ने र यसरी परीक्षण गरेका खसी, बोका, राँगा, भैंसीको सिङमा दुई प्रकारका रंग लगाउने भएको छ।

महानगरपालिकाले हरियो चिह्न लगाए स्वस्थ र रातो चिह्न लगाए अस्वस्थ हुने भएकाले सोहीअनुरूप खसी, बोका खरिद गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

कामपाले मासु खाने प्रयोजनका लागि ल्याइएको चौपायको दशैंबाहेक अरू कुनै पनि समयमा स्वाथ्य परीक्षण गर्ने गरेको छैन। धेरै संख्यामा खसीबोकाको खरिदबिक्री हुने भएकाले दशैंमा राजधानी भित्रिने सबै खसी–बोकाको स्वाथ्य परीक्षण गर्ने गरेको छ।

महाशाखाका अनुसार कलंकी, कोटेश्वर, बागबजार र बिजुली बजारस्थित खसीबोका बिक्री केन्द्रमा खसीबोकाको स्वास्थ्य परीक्षण हुने भएको छ।

कामपाले खसीबोका व्यवस्थापन समिति, ४ क्षेत्रका व्यापारी र सरोकारवालासँग छलफल गरी बिक्री केन्द्रलाई व्यवस्थित गर्ने भएको छ। यो वर्ष खसीबोकालाई राख्ने स्थान सफा हुनुपर्ने निर्देशन व्यापारीलाई दिएको कामपाले जनाएको छ।

गतवर्ष कामपाले ४ स्थानमा करिब ६० हजार खसीबोकाको स्वास्थ्य परीक्षण गरेको थियो। करिब ४ सयको हाराहारीमा अस्वस्थ खसीबोकाको सिङमा रातो रङ लगाइएको थियो।