
ललितपुर। चीनको हुनान प्रान्तका भाइस गभर्नर ही बाओसिङले नेपालको कृषि र ऊर्जा क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताएका छन् ।
मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र भाइस गभर्नर ही बाओसिङबीच भएको भेटवार्तामा उक्त क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका हुन्।
ऊर्जा मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री पुनले नेपाल र चीनबीच निकै पुरानो सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत दुई देशको सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गरे।
मन्त्री पुनले सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको भन्दै उक्त लक्ष्य पूरा गर्न नेपाललाई चिनियाँ लगानी आवश्यक रहेको धारणा राखे । उनले पछिल्लो समय चिनियाँ लगानीकर्ताहरु नेपालमा आकर्षित भएको बताए।
‘हामीलाई १० वर्षमा देशभित्रै १० हजार मेगावाट जति बिजुली आवश्यक पर्छ,क्षेत्रीय बजारका रुपमा हामीसँग अब बंगालादेश र भारत पनि हुन्छ,तपाईंहरु निर्धक्क भएर लगानी गर्नुहोस्,’ मन्त्री पुनले भने । उनले भारत र बंगलादेशसँग इनर्जी कोअपरेसनमा समझदारी भइसकेको भन्दै त्यसले बजार विस्तारमा सहयोग पुग्ने दाबी गरे।
भेटमा भाइस गभर्नर बाओसिङले हुनान प्रान्त चीनमा ऊर्जा प्रविधिका लागि निकै चर्चित रहेको भन्दै नेपालमा सहकार्य गर्न आफूहरु इच्छुक रहेको बताए । उनले चीनले अघि सारेको ‘वान वेल्ट वान रोड’मा नेपालले हस्ताक्षर गरिसकेको भन्दै त्यसमार्फत नै सहकार्य गर्न चीन सरकार तयार रहेको धारणा राखे।