काठमाडौँ। अधिकांश पानीका उद्योगले खानेपानी उत्पादनमा न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइएको छ । खानेपानीमन्त्री बीना मगरको नेतृत्वमा शनिबार भएको अनुगमनको क्रममा त्यस्तो पाइएको हो ।

मन्त्री मगर, मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर, मन्त्रालयका प्राविधक सहितको छवटा छुट्टाछुट्टै अनुगमन टोलीले शनिबार उपत्यकाका फरक–फरक ठाउँका ४० वटा पानी उद्योगको अनुगमन गरेको हो ।

अनुगमनका अधिकांश पानी उद्योगका मुहान सफा नभएको, बाहिरी आँखाले नै देख्न सकिने फोहोरसहितको पानी ट्याङ्करमा भर्ने गरेको, जार र बोटलको पानी उत्पादन गर्नेले सामान्य सरसफाईमा समेत ध्यान नदिएको पाइएको जानकारी दिइयो ।

उपत्यकामा बढी पानी आपूर्ति गरिने क्षेत्र, गोदावरी, जोरपाटी, गोकर्ण मातातीर्थ, थैव, चाल्नाखेल, बालाजु, गोङ्गबु, चोभार, जोरपाटी बौद्ध, महाङ्काल, बाँसबारीलगायतका ठाउँमा सञ्चालित पानी उद्योग र ती उद्योगले प्रयोग गर्ने पानीका मुहानको अनुगमन गरिएको मन्त्री मगरका प्रेस संयोजक सुकदेव भट्टराईले जानकारी दिनुभयो ।

उहाँले अनुगमनका क्रममा खानेपानी बोक्ने ट्याङ्करले स्टिकर प्रयोग नगरेको, यसअघि स्टिकर प्रयोग गर्दैआएका ट्याङ्करले समेत स्टिकर फ्याँकेर पानी बोक्ने गरेको, खानेपानीको मुहानमा हिलो जमेको र हरियो लेउ तैरिएको जस्ता कैफियत भेटिएको पनि जानकारी दिनुभयो ।

खानेपानीको गुणस्तरका विषयमा पटक÷पटक धेरै गुनासो आएपछि मन्त्री मगरसहित मन्त्रालयका सचिव र अन्य प्राविधिकले खानेपानीको वास्तविकता बुभ्mन शनिबार बिहान खानेपानीको छड्के अनुगमन गरेको जनाएको छ ।

अनुगमनका क्रममा मन्त्री मगरले खानेपानीका मुहान बाहिरी आँखाले हेर्दासमेत धेरै फोहोर देखिएकाले अविलम्ब सरसफाइ गरेर मात्रै पानी आपूर्ति वा बोतलमा भर्न निर्देशन दिनुभएको पनि प्रेस संयोजक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री मगरले पहिलो पटक भएकाले सचेत मात्रै गराइएको अर्को पटक अनुगमन गर्दा पनि पानीका मुहानको यहीँ अवस्था भेटिएमा नयाँ ऐनअनुसार कारबाही गर्ने विषयमा पनि सचेत गराउनुभयो ।

ट्याङ्कर नियन्त्रणमा :
खानेपानी मन्त्रालयको अनुगमन टोलीले बौद्ध जोरपाटी क्षेत्रबाट चारवटा ट्याङ्करलाई नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका खानेपानी बोर्डका इन्जिनियर बोधराज दाहाल नेतृत्वको टोलीले जोरपाटी क्षेत्रबाट स्टिकर नराखेका ट्याङ्करलाई नियन्त्रणमा लिएको हो ।

टोलीले नेपाल ड्रिङ्क्स् प्रालि, गोकर्णेश्वर ग्रुप प्रालि, वनदेवी खानेपानी उद्योग, गङ्गा खानेपानी उद्योग, कृष्ण खानेपानी उद्योग, सुप्रिया ट्रेडर्स प्रालि, होलिडे टाग र धौलागिरि खानेपानी उद्योगमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा कृष्ण र गङ्गा खानेपानी उद्योगमा दर्ताको प्रमाणपत्र नराखेको पाइएको छ । ती उद्योगका सञ्चालकलाई सात दिनभित्र कागजपत्रसहित खानेपानी बोर्डमा उपस्थित हुन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।