ललितपुर। तपाई हामीले स्वाद मानी मानी खाने अण्डामा पनि उस्तै सिन्डिकेट हुने गरेको छ । सोही कारण बजारमा प्रतिगोटा अण्डाको मूल्य १६ रुपैयाँ पर्ने गरेको छ । जसका कारण किसान र उपभोक्ता दुवै एकैपटक मर्कामा परिरहेका छन् ।

सरकारले यातायात क्षेत्रको एकाधिकार आंशिक रुपमा भए पनि हटायो । तरकारीमा रहेको एकाधिकार हटाउन प्रयासरत छ । कालीमाटीमा पटक–पटक छापा हानिएको छ ।

व्यवस्थापनका लागि पहल र प्रयास पनि भइरहेको छ । ती क्षेत्रका एकाधिकार शीघ्र समाधान होलान् । तर, अण्डामा रहेको एकाधिकार हटाउने बारेमा भने सरकारले हालसम्म कुनै पनि पहल गर्न सकेको छैन । जसका कारण अण्डा उत्पादक किसानले राम्रो मूल्य पाएका छैनन् भने उपभोक्तासमेत चर्को मूल्य तिर्नुपर्दा समस्यामा परेका छन् ।

अण्डामा नेपाल क्रमशः आत्मनिर्भर हुने बाटोमा रहेको छ । तर, भारतबाट १६ अर्बको मकै र दाना आयात गरेर आत्मनिर्भरताको कुरा गरिहँदा पनि हामीले तथ्य भने भूल्न हुँदैन

किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिसन लिने गरेको पाइएको छ । विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका छन् । लागत मूल्य पाउन किसानलाई मुस्किल परेको छ भने महँगो मूल्य तिर्न उपभोक्ता बाध्य छन् ।

किसानको फार्मबाट स्थानीय डिलरले अण्डा खरिद गर्छन् । त्यही अण्डा विभिन्न बजारका मुख्य डिलरलाई बिक्री गरिन्छ । मुख्य डिलरले सब–डिलरलाई तथा सब–डिलरले साइकल वा भ्यानमा बिक्री गर्नेलाई दिन्छ ।

साइकल र भ्यानमार्फत पसल–पसलमा बिक्री गरिन्छ भने पसलबाट उपभोक्ताले अण्डा खरिद गर्दै आएका छन् । नेपाल अण्डा उत्पादक संघका फार्मबाट ठूलो अण्डा प्रतिक्रेट २६० रुपैयाँ तथा मध्यम आकारको अण्डा प्रतिक्रेट २०० रुपैयाँमा बिक्री गरिन्छ ।

बजारमा प्रतिगोटा अण्डा १६ रुपैयाँसम्ममा बिक्री गरिएको छ । संघले प्रतिगोटाको १२ रुपैयाँ खुद्रा मूल्य तोकेको भए पनि सामान्यतया बजारमा १६ रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गरिँदै आएको छ ।

किसानबाट मध्यम आकारको अण्डा ६ रुपैयाँ ६६ पैसामा खरिद गरी उपभोक्तासम्म पुग्दा १६ रुपैयाँसम्ममा बिक्री गरिन्छ । ठूलो अण्डा ८ रुपैयाँ ६६ पैसामा खरिद गरेर १५ रुपैयाँभन्दा बढीमा बिक्री गर्ने गरेको पाइएको छ । किसानको फार्मबाट अण्डा प्रतिक्रेट पाँच रुपैयाँ नाफा खाएर बिक्री गरिन्छ ।

पूर्वी चितवनको अन्नपूर्ण कुखुरा फार्मका सञ्चालक अर्जुन अर्याल विचौलियाका कारण किसान मारमा परेको बताउँछन् । उनले १६ करोडको लागतमा फार्म स्थापना गरी ८२ हजार लेयर्स कुखुरापालन गरेका छन् ।

‘जोखिम सबै किसानले ब्यहोर्नुपर्छ, नाफा विचौलियाले मात्रै खाने गरेका छन्,’ उनले भने ।

नेपाल अण्डा उत्पादक संघका सचिव मदन पोखरेल लागत मूल्यभन्दा कममा अण्डा बिक्री गर्नुपर्दा किसान मारमा परेको बताउँछन् ।

एउटा अण्डा उत्पादन गर्न १० खर्च हुने गरेको तर बिक्री मूल्य त्योभन्दा कम रहेको उनको भनाइ छ । बर्षेनी किसान थला पर्दै गएका छन् ।

नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ । यो पेशाबाट भण्डै एक लाख ७५ हजारले रोजगारी पाएका छन् ।

दुई हजारभन्दा बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन् । देशमा कुखुरापालनको क्षेत्रमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको कँडेल बताउनुहुन्छ ।

कुखुरापालनमा ७० अर्बभन्दा बढी लगानी रहेको बताइन्छ । आधाभन्दा बढीमा बैंकिङ क्षेत्रको ऋण लगानी रहेको छ । सबैभन्दा बढी कुखुरापालन चितवनमा गरिँदै आएको छ । पछिल्लो मुलुकका अन्य जिल्लामा कुखुरापालन व्यवसाय फस्टाउँदै गएको छ ।