तुलसीपुर। जिल्लामा पहिलो पटक रू। १ करोड ९३ लाख २१ हजारको लागतमा मह प्रशोधन गृह निर्माण गरिएको छ ।

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पूरक अनुदानमा मह सङ्कलन, प्रशोधन र बजारीकरण उप–आयोजनाअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६ मा सो प्रशोधन गृह निर्माण गरिएको हो ।

सो प्रशोधन गृहमा १ सय ९ मेट्रिक टन मह सङ्कलन गर्न सकिने निर्माण कम्पनी स्वर्गद्वारी बी कन्सर्नका प्रबन्धक विनोदकुमार हमालले जानकारी दिए ।

उक्त प्रशोधन गृहको बिहीवार साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाका निर्देशक गोकर्णराज अर्यालले उद्घाटन गरे ।

माहुरीपालक किसानको आयस्तर बढाउन र किसानलाई व्यावसायिक बनाउन प्रशोधन गृहबाट मद्दत पुग्ने बताइएको छ ।