काठमाडौं। कृषि तथा सहकारी मन्त्री चक्रपाणी खनालले बजेटको अभावमा कृषकहरुलाई आवश्यक मलको व्यवस्था गर्न नसकिएको स्पष्टिकरण दिएका छन्।

मुलुकमा मलको अभाव भइरहँदा मन्त्री खनालले बजेटको अभावका कारण त्यसको उचित व्यवस्था गर्न नसकिएको स्पष्टिकरण दिए।

बुधबार प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले तत्कालका लागि ५ लाख मेट्रिक टन मलको अभाव भएपनि सरकारसँग साँढे २ लाख मेट्रिक टनमात्रै मल खरिद गर्न सक्ने बजेट रहेको पनि समितिलाई जानकारी दिए।

मन्त्रालयसँग मल खरिदका लागि ६ अरव अनुदान बजेटको व्यवस्था गरिएको छ। सो बजेटले मलको अभाव पूर्ति गर्न सकिने अवस्था नरहेकोे मन्त्री खनालले बताए।

मन्त्री खनालले गोदामको अभाव हुँदा पनि मलको आपूर्ति व्यवस्थालाई सहज बनाउन नसकिएको दावी पनि गरे। मन्त्री खनालले सरकारले मल तथा विउविजनको अभाव हुन नदिन आवश्यक योजना बनाएको दावी पनि गरे। उनले अव धानबालीका लागि मलको अभाव हुन नदिने र त्यसपछि विउविजनको उचित व्यवस्था गर्ने योजना पनि अघि सारे।

मन्त्री खनालले कृषि सामग्री संस्थानलाई मलको अभाव हुन नदिन आवश्यक निर्देशन दिइएको पनि समितिलाई जानकारी दिए। बैठकमा समितिका सदस्यहरुले मलको उचित व्यवस्था गर्न नसकेको भन्दै मन्त्री खनालको चर्का आलोचना गरेका थिए।