मनाङ ।  नेपालमै स्याउको उत्पादन बढाउने उद्देश्यका साथ मनाङमा दक्षिण एसियाकै सबैभन्दा ठूलो स्याउ फारम बनाउन कृषकहरू लागिपरेका छन्।

नेपालमै उच्च क्षेत्रको पहिलो प्रविधि ‘हाई डेन्सिटी एप्पल फर्म’ सुरु गरेको एग्रो मनाङले नयाँ प्रविधिबाटै स्याउ उत्पादन गरिरहेको छ। नेपालमै उच्च क्षेत्रको पहिलो प्रविधि ‘हाई डेन्सिटी एप्पल फार्म’ शुरु गरेको मनाङको एग्रो मनाङ स्याउ फार्मका कामदारहरू यतिवेला स्याउबोटको स्याहार–सुसारमै व्यस्त छन्।

मनाङको नेस्याङ गाउँपालिका १, भ्राताङमा ७ सय ५० रोपनी क्षेत्रफलमा स्याउखेती गरिएको छ। फार्ममा इटाली र सर्बियाबाट धेरै फल दिने फुजी, गाला र गोल्डेन जातको स्याउ लगाइएको छ।

धेरै स्याहार गर्न सके एउटै बोटले ४० देखि ४५ किलोसम्म फल दिन्छ। मल व्यवस्थापन, हाँगा कटिङ र स्टेपवाईज स्याहारले उत्पादन बढाउँदै लाने कामदारहरू बताउँछन्।

स्याउको उत्पादन बढाउन स्याउ बोटमा क्षमताअनुसार स्केल कटिङसमेत गर्दै आइएको छ। स्याउको प्रकार अनुसार क्षमता थाहा हुने र क्षमताअनुसार स्केल कटिङ गरिने कामदार राजु तामाङ बताउँछन्। माथिल्लो मनाङको मनाङ, टङ्कीमनाङ, खाङ्सार, ङावल, पिसाङ, घ्यारु र भ्राकाका बासिन्दाको सगोलमा रहेको ७ सय ३५ रोपनी जग्गा लिजमा लिएर स्याउ खेती थालिएको हो। यसवर्ष स्याउ उत्पादन राम्रो भएको एग्रो मनाङ प्रालीले जनाएको छ ।

भदौ अन्तिम साताबाट स्याउ टिप्न शुरु गरिन्छ। गतवर्ष ३ सय टन स्याउ उत्पादन गरि ३ करोड कमाउन सफल भएको एग्रो मनाङले यसवर्ष ५ सय टन स्याउ फलाउने दाबी गरेको छ।

स्याउ फार्ममा हाल ५० जना कामदारहरू कार्यरत छन्। २७ वर्षका लागि जग्गा लिजमा लिएर ३ जातका स्याउ लगाइएको यस स्याउ फार्ममा २५ करोडसम्मको लगानी रहेको छ। स्याउ खेतीसँगै पिसाङ मै जुुस उद्योग र कोल्डस्टोर समेत खोलीएको छ।

स्याउको चिप्स समेत कम्पनी आफैले बनाउँदै आएको कम्पनीका मेनेजर सोमराज गुरुङले बताए। उनका अनुसार स्याउको बोटले दुई वर्ष देखिबाटै फलदिन सुरु गर्ने र प्रत्येक वर्ष उत्पादन बढ्दै जाने गरेको हो। जति चिसो त्यति नै सप्रिने स्याउको बिरुवा भएकाले अनुकूल वातावरण पाए एउटै बोटले ४५ किलोसम्म उत्पादन दिन सक्ने कम्पनीको दाबी छ।

उत्पादित स्याउ पोखरा देखी काठमाडौंसम्म बिक्री हुने गरेको छ। यी जातका स्याउ समुद्री सतहबाट १८ सय मिटरमाथि राम्रो फल्ने भएको र भ्राताङ २८ सय ५० मिटर उचाइ रहेकाले राम्रो फल दिने एग्रो मनाङ प्रालीले जनाएको छ।