
ललितपुर। ताप्लेजुङमा ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको छ । बिहीबार साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जनाकारी दिए।
यो गोरखा भूकम्प (७ दशमलव ६ रिक्टर स्केल) को पराकम्प नभई भूकम्प नै भएको उनले बताए। ठूला भूकम्प गएको बीचको समयमा यस्ता साना भूकम्प जाने गरेको विज्ञहरूको भनाई छ। गोरखा भूकम्पको परकम्प पनि पातलो रुपमा गइरहेको छ।
पछिल्लो समय गत असारमा दुई र साउनमा दुईवटा परकम्प गएको थियो। पछिल्लो पटक साउन १७ गते दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भई ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो। त्यसअघि साउन ८ गते धादिङको गजुरी आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ८ रिक्टर स्केलको परकम्प गएको थियो।
असार १४ धादिङको झार्लाङ र २१ गते सोही जिल्लाको सुनौलोबार आसपास केन्द्रबिन्दु भएर क्रमशः ४ दशमलव १ र ५ रेक्टरको पराकम्प गएको थियो।
२०७२ साल वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५ सय ६ वटा पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।