लुम्ले। कृषि तथा पशु पन्छी विकास मन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा सुधार ल्याउनेगरी अनुसन्धान गर्न विज्ञ तथा वैज्ञानिकहरूलाई आग्रह गरेका छन् ।

कृषि अनुसन्धान परिषद्को पुनसंरचनाका लागि कास्कीको लुम्लेमा भैरहेको छलफलमा मन्त्री खनालले वैज्ञानिकको कामको उपलब्धि खोजेका हुन् । उनले वैज्ञानिकले कतिवटा विषयमा प्रमाणपत्र लियो भन्दा पनि कृषकले के उपलब्धि पाए भन्ने आफ्नो चासो रहेको बताए ।

उनले नार्कको कार्यशैली बदल्नु पर्ने भन्दै नेपालमा वैज्ञानिक भएपनि भारतबाट आयात गर्नु पर्ने अवस्था रहनु ठीक नभएको बताए । उनले तत्काल नतिजा निस्कनेगरी आफ्नो विषयमा अनुसन्धान गर्न निर्देशन दिए ।

आवश्यक परे ऐन संसोधन नभई पुनर्लेखन गर्न पनि सकिने तर कृषकले उपलब्धि पाउनु पर्ने बताए। नार्कले अहिलेको कार्यशैली पनि बदल्नु पर्ने उनले बताए।

नार्कका संरचना मर्ज गर्नुपर्ने र क्षेत्रीय कार्यालयलाई विकास गर्न आवश्यक रहेको मन्त्री खनालको भनाई छ ।

‘तपाईहरूले कतिवटा विषयमा विज्ञता हासिल गर्नु भो त्यो मेरो विषय हैन कृषकले र देशले के पायो त्यो मेरो चासो हो, ’ मन्त्री खनालले भने ।

कृषि मन्त्रालयको इज्जत राख्नेगरी काम गर्न राज्यमन्त्री राम कुमारी चौधरीले आग्रह गरिन् । रिसर्चका लागि रिसर्च हैन, प्रयोगमा आउने खालका रिसर्च गर्न आग्रह गरिन् ।

प्रदेश नं ४ का कृषिमन्त्री लेख बहादुर थापाले अनुसन्धानको विषय प्रदेश मातहत भए स्थानीय आवश्यकता अनुसारको क्षेत्रमा अनुसन्धान गरीने र तत्काल उपलब्धि हुने दाबी गरे ।

क्षेत्रीय कार्यालय र प्रदेश सरकारबिच सहकार्य हुन नसकेको क्षेत्रीय कार्यालयका प्रमुखले गुनासो गर्दै यस्ता विषय प्रस्ट पार्न आग्रह गरे।

कृषि अनुसन्धान परिषद् नार्कको पुनरसंरचनाका लागि छलफल भइरहेको छ । गत वर्ष असोजमा गठन भएको कार्यदलले तयार गरेको मस्यौदा अनुसारनै नार्कको नयाँ संरचना बनाउन लागिएको हो ।

यस्तै गत असारमा पनि संसोधन मस्यौदा तयार गर्न समिति गठन गरिएको थियो । २७ वर्ष पहिले स्थापना भएको नार्कलाई नयाँ संरचनामा लैजान लागिएको हो ।

मंगलबारसम्म चल्ने छलफलले कस्तो संरचनामा जाने भन्ने टुंगो लगाउने छ ।केन्द्र र प्रदेशका कृषीमन्त्री, कृषि विज्ञ, वैज्ञानिकहरू सहभागी छन् ।