काठमाडौं। कालिमाटी तरकारी फलफूल थोक बजार व्यवसायी संस्थाका अध्यक्ष भरत खतिवडा पक्राउ परेका छन् । कालिमाटी तरकारी बजानर अनुगमनमा गएका सरकारी टोलीलामाथि अभद्र व्यवहार गर्ने तथा नियन्त्रणमा लिने प्रयत्न गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
आज (सोमबार) बिहान करिब तीन बजे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट विभागका शाखा अधिकृत दिपक पोख्रेलको नेतृत्वमा कालिमाटी फलफूल तथा तरकारी बजारमा अनुगमनको लागि खटिएका थिए । अनुगमनको क्रममा बिलबिजक देखाउन नसकेको दुईटा ट्रकलाई नियन्त्रमा लिइएको थियो ।
उक्त टोलिमाथि कालिमाटी तरकारी बजारका विचौलियाहरुले अभद्र व्यभार गरेको, नियन्त्रणमा लिने प्रयत्न गरेको लगायत कार्य गरेपछि विभागले दोषि व्यवसायीलाई पक्राउ गर्न आदेश दिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए ।
‘अहिलेसम्म कालिमाटी तरकारी फलफूल थोक बजार व्यवसायी संस्थाका अध्यक्ष भरत खतिवडा र ट्रक ड्राइभरलाई पक्राउ गरिएको छ,’ उनले भने ‘अझै अनुगमन टोलीमाथि अभद्र व्यवहार गर्ने विभिन्न तरकारी बिचौलियहरुलाई प्रहरीले खोजी गरिरहेको छ ।’
कालिमाटीको घटना बुझ्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, सचिव, महानिर्देशक गौचन, काठमाडौंका प्रमुख जिल्ला अधिकारीलयायत घटनास्थल पुगेका थिए । ‘दोषिमाथि छानविन गरेर कानून बमोजिम कारबाही अघि बढाउछौं,’ महानिर्देशक गौचनले भने ।
विभिन्न सरकारी तथा निजी संघ संस्थाका अध्ययनहरुले कालिमाटी लगायतको तरकारी बजारमा पाँच तहसम्मका बिचौलियाहरु रहेको रिपोर्ट बाहिर आइसकेको छ । त्यसैलाई मध्यनजर गर्दै पछिल्लो समय तरकारी बजारको बिचौलियालाई अन्त्य गर्न सरकार लागिपरेको छ ।