
पर्वत। सबै गाउँलेलाई आत्मनिर्भर बनाउन महाशिला गाउँपालिकाले एक घर एक टनेल कार्यक्रम सुरु गरेको छ ।
गाउँपालिकाले बजेट छुट्याएर कम्तीमा ५० प्रतिशत घरधुरीमा व्यावसायिक तरकारी खेती विस्तार गर्ने भएको हो । महाशिलामा करिब दुई हजार घरधुरी रहेका छन् ।
गाउँपालिकाका अध्यक्ष राजु पौडेलले त्यसका लागि ३३ लाख रुपैयाँ बजेट विनियोजन गरि सकेको जानकारी दिए । ‘सबै गाउँलेलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौं,’ उनले भने, ‘टनेल र बीउ गाउँपालिकाले दिनेछ, अरू संरचना किसानले आफैं बनाउनुपर्छ ।’ पहिलो चरणमा यसअघि नै मौसमी तथा बेमौसमी तरकारी खेतीमा लागेका किसानलाई प्राथमिकतामा राखिएको उनले बताए । किसानलाई वितरण गर्न महाशिलाले एक हजार प्लास्टिकका टनेल खरिद प्रक्रियासमेत थालिसकेको छ ।
कृषि प्राविधिक र विज्ञका सुझावअनुसार कार्यक्रम सुरु गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैठकुरीले जानकारी दिए । गाउँसभाले किसानको व्यावसायिक समूह बनाउने निर्णयसमेत गरेको छ ।
एकै प्रकारको तरकारी उत्पादन गर्दा बजार पाउन समस्या हुने भएकाले किसान समूह गठन गरेर बालीमा चक्रीय प्रणाली अपनाइने उनले बताए ।
‘हरेक १० किसानको एउटा समूह हुन्छ,’ उनले भने, ‘एउटा समूहको टनेलमा टमाटर मात्रै लगाउनुपर्छ । अर्को समूहमा काँक्रा, अर्कोमा करेला ।’ हजार किसानका सय समूह बनाउने योजना गाउँपालिकाको छ । ती समूहमध्ये हरेकलाई गाउँपालिकाले छुट्टाछुट्टै बीउ वितरण गर्छ ।
स्थानीय बजारमा आवश्यक तरकारीको बिक्रीवितरण समूहले नै गर्छ । समूहलाई समस्या भए गाउँपालिकाले कृषि प्राविधिक र विज्ञको सल्लाहमा अन्यत्र पठाउन सहजीकरण गर्नेछ ।
गाउँपालिकाले अघिल्लो वर्ष एक घर, एक रोजगार कार्यक्रम लागू गरेको थियो । त्यसमध्ये ३ सय ७५ जनाले विकास स्वयंसेवक छनोट भई तालिम पाइसकेका छन् ।
स्वयंसेवकले हरेक महिना १५ दिन अनिवार्य गाउँपालिकाले खटाएको काम गर्नुपर्छ । बाँकी १५ दिन घरकै काममा व्यस्त गराउने गरी गाउँपालिकाले यस्तो योजना ल्याएको हो ।
यसबाट किसानले प्रतिवर्ष एक लाखदेखि १ लाख ३० हजार रुपैयाँसम्म आम्दानी गर्न सक्ने अनुमान छ । हाल वितरण गर्न थालिएको एक हजार टनेलमध्ये विकास स्वंयसेवक प्राथमिकतामा परेका छन् । गाउँपालिकाले कृषिमा विशेष कार्यक्रम ल्याउन अघिल्लो वर्ष नै निर्णय गरेको थियो ।
गाउँसभाले गरेका निर्णय कार्यान्वयन गर्ने क्रममा यस वर्ष व्यावसायिक खेतीलाई प्राथमिकतामा राखिएको प्रवक्ता ठकुरीले बताए । स्थानीय युवा किसान प्रकाश पौडेलले गाउँपालिकाको निर्णयबाट व्यावसायिक कृषि गर्न हौसला मिलेको बताए ।