ललितपुर। चालु अर्थिक वर्ष ०७५/७६ मा मुलुकमा ५५ लाख टनभन्दा बढी धान उत्पादन हुने भएको छ ।

रोपाईं बढेको, मौसमले साथ दिएको, हालसम्म आवश्यक मलखाद्य, बिउ-बिजन उपलब्ध भएकोले उत्पादन बढ्ने विज्ञले दावी गरेका हुन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबारसम्ममा मुलुकभर ९५.४० प्रतिशत धान रोपिएको बताएको छ ।

१५ लाख ५२ हजार ४ सय ६९ हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखिएकोमा १४ लाख ८१ हजार १३ हेक्टर क्षेत्रफल धान रोपि सकिएको जानकारी दिएको हो ।

कृषि विज्ञहरुले भने भदौको पहिलो सातासम्म धान रोपिने भएकोले त्यस अबधिसम्ममा करिब सतप्रतिशत धान रोपिने अनुमान गरेका छन् । धान विज्ञ भोलामान सिंह बस्नेतले हालसम्मको रोपाईंको नतिजा हेर्दा यो वर्ष करिब सतप्रतिशत रोपाई हुने बताउनुभयो ।

लक्ष्यको ९७-९८ प्रतिशत धान रोपाइँ भैसकेकोले ५५ लाख टनभन्दा बढी धान उत्पादन हुने उहाँले दावी गर्नुभयो । बस्नेतका अनुसार हालसम्म सबैभन्दा बढी आव ०७३-७४ मा ५२ लाख ३० हजार टन धान उत्पादन भएको थियो । गत आवमा अघिल्लो वर्ष जति धान नफलेका कारण धान उत्पादने यस वर्ष रेकर्ड तोड्ने देखिएको हो ।

यद्यपि अहिले किसानहरुले मलखाद्य अभाव भएको आवाज उठाइराखेका छन् । सरकारले त्यसलाई भने गम्भिर रुपमा लिएर समयमै हल गर्नुपर्ने उहान्ले बताउनुभयो ।

लामो समय कृषि मन्त्रालयका प्रवक्ताको रुपमा रहेका डा योगेन्द्र कार्कीले चालु आवमा धानको उत्पादनले नयाँ रेकर्ड कायम गर्ने बताउनुभयो ।

सतप्रतिशत रोपाईं हुने र करिब ६० लाख टन धान उत्पादन हुने उहाँको विश्लेषण छ । मन्त्रालयका अनुसार गत वर्ष साउन ३२ सम्ममा ८९.२२ प्रतिशत मात्र धानको रोपाई भएको थियो ।

अहिले सोही अबधिमा ६ प्रतिशतबढी धान रोपिएको छ । मुलुकको कुल ग्राह्स्थ उत्पादनमा धानको मात्रै योगदान करिब ४ प्रतिशत रहँदै आएको छ ।