काठमाडौं । मुलुक संघीय राज्य प्रणालीमा गएपछि संघ, प्रदेश र संघीय सरकारले लगाएको दोहोरो र अन्य अस्वभावीक करको मारमा जनता परिरहेका छन ।

एउटै आर्थिक क्रियाकलापमा पनि विभिन्न बहनामा दोहोरो तथा अस्वभाविक रुपमा कर लागाएपछि जनता भने मारमा परेका हुन् । दोहोरो तथा अस्वभाविक कर असुलीको विरोधमा देश ब्यापी रुपमा विरोद्ध भएपनि सरकारले कुनै ठोस निणर्य नगर्दा जनता करको भार बोक्न बाध्य छन ।

दोहोरो तथा अस्वभाविक कर असुलेको गुनासो आएपछि संसदको अर्थ समितिले सरकारलाई यो समस्या समाधान गर्न निर्देशन दिएको भएपनि सरकार गम्भीर भएको छैन । विभिन्न संघ,प्रदेश र स्थानीय तहले अधिकार क्षेत्र वाहिर गएर दोहोरो तथा अवस्भाविक रुपमा कर वृद्धी गरेको भन्दै विरोधका स्वरहरु आइरहेका छन ।

मकै पोल्नेलाई दैनिक ४५, भैँसी बेचे हजार :
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाटबजारमा मकै पोलेर बेच्नेसँग दिनको ४५ रुपैयाँ कर उठाउन थालेको छ । यसैगरी, हाँस, कुखुरा र परेवामा प्रतिगोटा १६ रुपैयाँसम्म कर तोकेको छ ।

खुद्रा तरकारी व्यापारीलाई वार्षिक १२ सय र ठेलामा फलफूल बिक्री गर्नेलाई १५ सय कर तोकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका किसानले भैँसी बेच्दा एक हजार कर तिर्नुपर्ने भएको छ । खसी बेच्नेले डेढ सय कर बुझाउनुपर्छ । नगरपालिकाले पशु करलगायत विभिन्न शीर्षकमा ४५ प्रकारका कर लगाएको छ ।

मेहदी लगाउनेलाई दैनिक १० रुपैयाँ कर :
मोरङको बुढीगंगा गाउँपालिकामा हजामले दैनिक २० रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरिएको छ । चनाचटपटे बेच्नेले ३० रुपैयाँ, मेहदी लगाउनेले १० रुपैयाँ तथा चटक देखाउनेलाई २० रुपैयाँ कर तोकिएको छ । कटहरी गाउँपालिकामा चिया बेच्नेले वार्षिक ११ सय कर तिर्नुपर्ने भएको छ ।

विद्यार्थीलाई मासिक २५ रुपैयाँ फोहोर कर :
बुटवल उपमहानगरपालिकाले घरबेटीसँग मात्रै होइन, भाडामा बस्ने विद्यार्थीसँग पनि फोहोर कर असुल्न थालेको छ । विगतमा एक घरबाट मासिक सय रुपैयाँ उठाउँदै आएकोमा यसपटकदेखि प्रतिभान्सा पचास रुपैयाँ लिन थालेको छ । विद्यार्थीका लागि भने २५ रुपैयाँ तोकिएको छ ।

घाटा लागेको व्यवसाय बन्द गर्न १० हजार :
मोरङको विराटनगर महानगरपालिकाले व्यवसाय बन्द भएको सिफारिसका लागि १० हजार कर तोकेको छ । व्यवसाय दर्ता गर्न भने ५ सय शुल्क तोकिएको छ । यस्तै, बिजुली तथा टेलिफोन सिफारिसको पनि ५ सय रुपैयाँ दस्तुर तोकिएको छ ।

फिल्म सुटिङ गर्न दिनको एक हजार :
तनहुँको बन्दीपुर गाउँपालिकाले बजार क्षेत्रमा फिल्म तथा म्युजिक भिडियो सुटिङ गर्नेलाई दिनको एक हजार रुपैयाँ कर तोकेको छ । बजार क्षेत्रमा ड्रोन क्यामेरा प्रयोग गरे पाँच सय रुपैयाँ दस्तुर लाग्नेछ । प्याराग्लाइडिङ उडाएको एक हजार कर तोकेको छ ।

घरको तलाअनुसार कर :
यसअघि घरजग्गा मूल्यांकनका आधारमा एकीकृत सम्पत्ति कर तिर्दै आएका दाङको घोराही उपमहानगरपालिकाका नागरिकलाई अब घर र घर बनेको जग्गाको छुट्टाछुट्टै कर लागेको छ । प्रतिवर्गफिट डेढदेखि चार रुपैयाँसम्म सम्पत्ति कर कायम गरिएको छ । र, जग्गाको पनि प्रतिवर्गफिट चार रुपैयाँ बेग्लै तिर्नुपर्छ । बजार क्षेत्रमा एक तला घरको करिब आठ हजार रुपैयाँ वार्षिक सम्पत्ति कर पर्न आउँछ ।

घरको तला थपिए वर्गफिटअनुसार कर थपिँदै जान्छ । तुलसीपुर उपमहानगरपालिकामा पनि घर र जग्गाको छुट्टाछुट्टै कर छ । तर, घरका कोठाअनुसार कर तिर्नुपर्ने नियम बनाइएको छ ।

घोराही उपमहानगरपालिकाकी उपप्रमुख तथा कर निर्धारण समितिकी संयोजक सीता न्यौपाने भने कर बढाएको नभई करको दायरा बढाएको दाबी गर्छिन् ।

अंग्रेजी सिफारिस शुल्क ५ सय :
तेह्रथुमको म्याङलुङ नगरपालिकाले अंग्रेजी भाषामा दिने सबै प्रकारका सिफारिसमा ५ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । यस्तै, सम्बन्धविच्छेद मुद्दा दर्ता ५ सय, नागरिकता प्रमाणपत्र सिफारिस १ सय, सर्जिमिन सिफारिस २ सय, प्रतिलिपिका लागि सिफारिस २ सय, अंगीकृत नागरिकता र वैवाहिक अंगीकृत नागरिकताका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

पशु र कृषि बिमा तथा स्वास्थ्य बिमा सिफारिसका लागि १ सय रुपैयाँ र आगलागी राहत माग निवेदनका लागि १ सय रुपैयाँ लिने निर्णय गरेको छ । यस्ता करबाट चालू आर्थिक वर्षमा ६५ लाख संकलन गर्ने लक्ष्य लिएको छ ।

आफ्नै बारीको रुख काट्दा दुई सय कर :
पाँचथरको कुम्मायक गाउँपालिकाले नागरिकलाई आफ्नै बारीको रुख काट्दा प्रतिरुख दुई सयका दरले कर तोकेको छ । गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत कमल भटराईले रुख काट्न निरुत्साहित गर्न यस्तो नियम राखिएको बताए । यही शीर्षकमा गतवर्ष चार लाख रुपैयाँ संकलन भएको थियो । यस्तै, जाजरकोटको भेरी नगरपालिकाले रुखको हाँगा काट्ने सिफारिसका लागि ५ सय रुपैयाँ कर तोकेको छ ।

जन्म, मृत्यु र विवाह दर्ता, प्रमाणित कर १२ गुणा वृद्धि :
जाजरकोटको भेरी नगरपालिकाले २५ रुपैयाँमा हुँदै आएको जन्म, मृत्यु र विवाह दर्तारप्रमाणित करको दर बढाएर तीन सय रुपैयाँ पु(याएको छ । नामथर तथा जन्ममिति संशोधन सिफारिसमा पनि उही दर तोकेको छ ।

यसैगरी, बसोवास प्रमाणित र घरको चारकिल्ला प्रमाणित गरेको एक–एक हजार तोकिएको छ ।तर, जनताको ढाड सेक्ने गरी कर लगाएको नगरपालिकाले गत आर्थिक वर्षमा दैनिक भ्रमण भत्तामा २० लाख र इन्धनमा साढे ६ लाख रुपैयाँ खर्च गरेको छ ।

डिजेल–पेट्रोलमा कर :
इलाम नगरपालिकाले पेट्रोल र डिजेलमा ५० पैसा प्रतिलिटरका दरले प्रदूषण कर लिन सुरु गरेको छ । नगर सभाबाट डिजेल र पेट्रोलमा एक रुपैयाँ कर लगाउने निर्णय गरेको भए पनि पहिलो वर्ष ५० पैसा मात्रै कर लिइएको नगर प्रमुख महेश बस्नेतले बताए । प्रदूषण करबापत २५ लाख रुपैयाँ उठाउने नगरपालिकाको लक्ष्य छ । नगर क्षेत्रभित्र दुईवटा पेट्रोलपम्प छन् ।

कर सम्बन्धी नीति, नियम, तथा कार्यविधिमा दोहोरो कर लाग्ने ब्यावस्था भएको भए संशोधन, परिमार्जन र खारेजी गरी निश्चित मापदण्डको आधारमा कर लगाउने ब्यावस्था गर्नु अनिवार्य भएको छ । अस्वभाविक रुपमा लगाइको कर खारेज गर्न अर्थ समितिले सरकारलाई निर्देशन दिएको भएपनि सरकार भने मौन छ । जसका कारण सरकारले जनविश्वास गुमाउने खतरा बढेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।