ललितपुर। किसानले उत्पादन गरेको दूधको मूल्य घटाइएको भन्दै केन्द्रीय दुग्ध सहकारी संघको आह्वानमा देशव्यापीरूपमा किसान आन्दोलनमा उत्रिने भएका छन् ।

साउन २८ गते जिल्लामा आन्दोलन कमिटी गठन गर्ने, साउन २९ गते देशभरका दुग्ध उत्पादक सहकारी संस्था, सहकारी दुग्ध चिस्यान केन्द्र, दुग्ध विकास संस्थानको चिस्यान केन्द्र र प्राइभेट डेरीको दुग्ध चिस्यान केन्द्रमा कालो झण्डासहित मागपत्रको ब्यानर राख्ने, साउन ३० गतेदेखि सम्पूर्ण दुग्ध उत्पादक किसानले दूध बिक्री गर्न आउने समयमा कृषकले हातमा कालोपट्टी बाँध्ने, साउन ३१ गते जिल्लाका कृषक प्रतिनिधि, केन्द्रीय दुग्ध सहकारी संघको सहभागितामा संस्थानमा ज्ञापनपत्र बुझाउने कार्यक्रम छ रहेको छ ।

त्यस्तै सोही दिन मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाउने तथा माग पूरा नभए दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघले जनाएको छ ।

चितवनका किसान आन्दोलनमा उत्रिँदा सरकारले सुनुवाई नगरेको भन्दै देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिइएको हो । किसानले उत्पादन गर्दै आएको दूधको दुग्ध विकास संस्थानले एकलौटीढंगले मूल्य घटाएको र दानाको मूल्य प्रतिकिलो ५ रुपियाँ वृद्धि गरिएको भन्दै किसान आन्दोलनमा उत्रिएका हुन् ।

देशभरका किसानले हाल संस्थान र उद्योगहरूले सहकारीमार्फत् विभिन्न शीर्षकमा किसानलाई दिएको साबिक मूल्य दिइनुपर्ने, कृषकले उत्पादन गरेको दुधको बजार ग्यारेन्टी गरिनुपर्ने, लागतको आधारमा मूल्य समायोजन गरिनुपर्ने, दुग्ध विकास संस्थानलाई पुनर्संरचना गरी सहकारीकरण गरिनुपर्ने, दुग्धको मूल्य निर्धारण समिति बनाइनुपर्ने लगायत माग राखेर उनीहरू आन्दोलमा उत्रिएका हुन् ।

संस्थानबाट लागत मूल्यभन्दा कम मूल्य पाइरहेका किसानको दूधको मूल्य घटाउँदा पेशाबाट किसान पलायन हुने र दूधमा आत्मनिर्भर हुने राज्यको लक्ष्य पूरा हुन नसक्ने भएकाले घटाइएको मूल्य यथावत् राख्न माग गरेका छन् ।