
कपिलवस्तु। सरकारले ४ वर्षअघि दिने भनेको अनुदानको रकम उखु कृषकले नपाउदा चिन्तित बनेका छन् । आर्थिक वर्ष २०७१/७२ मा उखु कृषकहरुलाई प्रोत्साहन बापत प्रति क्विण्टल २५ रुपैयाँ अनुदान सरकारले दिने घोषणा गरेको थियो ।
उखु किसान संघका जिल्ला अध्यक्ष अनुप चौधरीका अनुसार राज्यबाट जिल्लाभरिका किसानले करिब दुई करोड ५० लाख बराबरको अनुदान लिन बाँकी रहेको बताए । अन्य जिल्लाका किसानले अनुदान रकम पाए पनि कपिलवस्तुका किसानहरु मात्र अनुदानबाट बञ्चित भएको चौधरीले जनाए ।
कपिलवस्तुको जवाभारीस्थित महालक्ष्मी सुगर मिल उखु विकास समितिमा दर्ता नभएकाले त्यहाँ उखु बिक्री गर्ने किसानले अनुदान रकम नपाएको जिल्ला कृषि विकास कार्यालयले कपिलवस्तुको भनाई छ ।
कार्यालय प्रमुख राकेश ओझाका अनुसार आव ०७१/७२ मा महालक्ष्मी सुगर मिलमा उखु विक्री गरेका सात हजार किसानको विवरण विभागमा पठाइएको थियो । विकास समितिले किसानले उखु बेचेको उद्योग, समितिमा दर्ता नभएको भन्दै रकम नपठाएको हो ।
उद्योग संचालक तथा प्रदेश सांसद विरेन्द्र कनौडियाले अहिले उक्त उद्योग सर्लाही सारेका छन् । तर, उद्योगमा उखु बेचेर अनुदानको आशमा चार वर्षदेखि कुरेर बसेका किसानको करोर्डौ रकम गुम्ने अवस्था छ ।
आफूले बेचेको चार सय क्वीन्टल उखुको अनुदान रकम अहिलेसम्म नपाएको गुनासो गर्दै कपिलवस्तुको गणेशपुरका कृषक महादेव चौधरीले उद्योगले किसानलाई मार्ने काम गरेको अरोप लगाए । वर्तमान सरकारका कृषि मन्त्री चक्रपाणि खनाललाई भेटेर समस्याको बारेमा जानकारी गराएको किसानको भनाई छ ।
विकास समितिमा उद्योग दर्ता गरेको भए सात हजार किसानको रकम अलपत्र नपर्ने स्थानीय समाज सेवी विष्णु खतिवडाले बताए । उद्योगको लापरवाहीले किसानलाई पीडित नबनाउन आग्रह गर्दै अनुदान रकम उपलब्ध गराउन माग गरेका छन् ।
आफूले अनुदानको रकम नपाए आन्दोलन गर्ने किसानले चेतावनी दिएका छन् । उखु किसान संघले बक्यौता अनुदान रकम उप्लब्ध गराउन माग गर्दै इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत कृषि तथा पशुपंक्षी मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । माग पूरा नभए साउन २९ गतेदेखि अनिश्चितकालीन आमरण अनशन बस्ने किसान संघले जनाएको छ ।