चितवन। सरकारले दुग्ध उत्पादक कृषकलाई घटाइएको मूल्य फिर्ता नगरे देशभर चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

कृषकलाई दिदै आएको दूधको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ घटाएर अन्याय गरेको भन्दै कृषकहरुले यसको विरोधमा आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

शुक्रवार चितवन जिल्ला दुग्ध उत्पादक सङ्घले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै दुग्ध उत्पादक कृषकहरुले सरकार समक्ष आक्रोश व्यक्त गर्दै जिल्लामा यसअघि विभिन्न चरणका आन्दोलन गरेतापनि कृषकको पेशा र व्यवसायप्रति सरकार गम्भिर नभएको आरोप लगाएका छन् ।

भावी आन्दोलन र रणनीति अवलम्बन कार्यक्रममा बोल्दै सङ्घका केन्द्रीय अध्यक्ष नारायण प्रसाद देवकोटाले केन्द्रीयस्तरको बैठक बसी आन्दोलनका कार्यक्रम तय गरिने बताउनु भयो । उनले विगतका आन्दोलनले कृषकलाई नै हानी पुगेको भन्दै आन्दोलनको स्वरुप र प्रकृति परिवर्तन गरी चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिए । ‘यो हाम्रो रहर होइन बाध्यता हो,’ उनले भने, ‘मूल्य फिर्ता नभएसम्म आन्दोलन रोकिदैन ।’ विभिन्न बाहनामा डिडिसीले मूल्य घटाउदै आएको भन्दै उनले सबै दुग्ध उत्पादक कृषकलाई एकीकृत भएर अघि बढ्न आग्रह गरे ।

सो अवसरमा सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अम्बर बहादुर कुँवरले सरकारले बनाएको योजनालाई कृषकले पूरा गर्दै आएको बताउदै घटाइएको मूल्य फिर्ता नगरे आफ्नो अडानमा कृषकहरु कत्तिपनि विचलित नहुने बताए । सरकारले बनाएको योजनालाई कृषकले पूरा गरिदिएको तर सरकारले कृषकप्रति नै ठूलो अन्याय गरेको उनको आरोप थियो ।

दूधको मूल्यको तुलनामा दाना चोकरको मूल्य बढेको भन्दै सङ्घका केन्द्रीय सदस्य भागिरथ तिमल्सिनाले दूधको मूल्य फिर्ता गरेर मात्रै नपुग्ने बताए । ‘अब सरकारले दूधको मूल्य मात्र फिर्ता गरेर हुँदैन,’ उनले भने, ‘उत्पादन लागतको तुलनामा दूधको मुल्य बढाइनुपर्छ ।’ घाँसमा आधारित दूध उत्पादन गरेर लागत मूल्य घटाउन लागिएको बेलामा दानामा मूल्य घटाउनु कुनै औचित्य नभएको उनले प्रष्ट पारे ।

सो अवसरमा सहभागी कृषकले आफूले उत्पादन गरेको मुल्य निर्धारण आफैले गर्न नपाएको, आफूखुशी विक्री गर्न नपाएको भन्दै आक्रोश पोखेका थिए । उनीहरुले पाखुरामा कालोपट्टी बाँधेर एकसाथ विरोधस्वरुप ऐक्यवद्धता जनाएका थिए ।