ललितपुर। नेपाल कृषि उत्पादन तथा बजारिकरण सञ्जालले किसानहरुका थप ७ सुत्रिय माग राख्दै किसानको समस्यालाई गम्भिरताका साथ लिन सरकारलाई आग्रह गरेको छ । शुक्रवार सिंह दरवारमा थप माग राख्दै संजालले उक्त आग्रह गरेको हो ।
यसअघि श्रावण ९ गते किसान आयोगमा सञ्जाले १४ सुत्रिय माग पेश गरेको थियो । गोलभेंडा लगायतका हरियो तरकारीको मुल्य २ रुपयाँ पनि नपाएपछि राहत तथा क्षतिपुर्ति माग गर्दै किसानहरु किसान आयोग पुगेका थिए ।
लिखित माग पेश गरेको हप्तौं बितिसक्दा पनि सरकारले राहत नदिएपछि सञ्जालले सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो । आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले सचिवालयको पूर्ण बैठक बस्दा सरकारलाई दिएको सुझाव कार्यन्वयन हुन नसकेकोमा आयोग नतमस्तक भएको बताउनुभयो ।
आकस्मिक उपचारको माग गरेका किसानहरुलाई उपचार दिन नसकेकोमा आयोग स्वयमले अप्ठेरो महसुस गरेको उहाँको भनाई थियो । किसानका समस्या समाधानका लागि गठन भएको आयोगले यस्ता जल्दाबल्दा समस्यामा सहयोग गर्न नसकेको प्रति उहाँले आफु मर्माहत भएको बताउनुभयो ।
आयोगमा थप माग पेश गर्दै किसान सञ्जालका प्रतिनिधिमण्डलले कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल र सचिव युवकध्वज जिसिलाई अलग अलग भेट गरेको थियो ।
संजालले किसानहरुका तत्कालिन माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका थिए । मन्त्री खनालले किसानहरुका यही माग पुरा गर्न थप ६ वटा कृषि उपजलाई भारत निकासी गर्न क्वारेन्टाईन का लागि सुचिकृत गर्न पत्राचार गरेको बताउनुभयो ।
मन्त्री खनालले पराराष्ट्र मन्त्रालय मार्फत एउटा टोली बनाएर रोकिएको गोलभेंडा लगायत कृषि उपज निकासीका लागि काम थालिएको जानकारी दिए । सञ्जालालका संयोजक तुफानले वार्ता मार्फत निकास ननिस्किए बारी बाटो र बजारसम्म आन्दोलन हुने चेतावनी दिएका थिए ।