रामेछाप। जिल्लामा पहिलो पटक सुनापति गाउँपालिका हिलेदेवीले सुत्केरी भैँसी पाल्ने किसानलाई पोषण भत्ता स्वरुप तीन हजार रुपैँया सुत्केरी भत्ता उपलव्ध गराएको छ ।
सुत्केरी भैँसीलाई राम्रोसँग स्याहारसुसार, खानपिन र आहारविहारमा ध्यान दिनुपर्ने सन्देश जिल्लाको पशुपालक किसानहरुलाई प्रबाह गराउन पहिलो पटक पशु आहार सुत्केरी भत्ता बितरण गरिएको हो।
सुनापति गाउँपालिकामा पशुपालन गर्दै आएका सात किसानलाई तीन हजारका दरले रकम उपलव्ध गराइएको पशुसेवा शाखाका प्रमुख प्रभु चौधरीले बताए ।
गाउँपालिकाले व्यवसायिक पशुपालनतर्फ कृषकलाई आकर्षित गर्ने र दूध उत्पादनमा बृद्धि गर्ने उद्धेश्यले आगामी वर्षहरुमा पनि निरन्तरता दिई थप किसानहरुलाई अनुदानको रकम उपलब्ध गराउने सुनापति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनेन्द्र भुजेलले बताएका छन् ।
गाउँपालिका अधिंकासको मुख्य पेशा भनेकै खेती किसान र पशुपालन भएकाले घरमा पालिएका पशुहरुलाई घाँस, पोषणयुक्त खानेकुरा नदिँदा पशुहरुमा विभिन्न रोगले सताउने, दूध उत्पादनमा कमी हुने र पशुहरु विरामी भई मृत्यु समेत हुने गरेका कारण किसानहरुलाई प्रोत्साहन स्वरुप सुत्केरी भत्ता प्रदान गरिएको पनि प्रमुख भुजेलले बताए ।









