
चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय, चितवनले निजी कलेजहरुलाई दिएको सम्बन्धन स्थगित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निजी कलेजहरुलाई दिइएको सम्बन्धन स्थगित गर्दै छानबिनका लागि शिक्षामन्त्री गिरिाजमणि पोखरेललाई निर्देशन दिएको आन्दोलरत प्राध्यापक इश्वरी प्रसाद कडरियाले जानकारी दिनुभयो।
प्राध्यापक कडरियाका अनुसार सम्बन्धन दिँदा आर्थिक अनियमितता भएको आशंका भएपछि छानबिन गर्न निर्देशन दिइएको हो ।
असार २१ मा विश्वविद्यालय कार्यकारी परिषद्ले ८ निजी कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो। निजी कलेजतर्फ कृषि स्नातकमा सम्बन्धन पाउनेहरुमा पूर्वाञ्चल कृषि क्याम्पस, झापा, जीविका कृषि विज्ञान कलेज, इटहरी, भ्याली कृषि क्याम्पस, ललितपुर, हिमछाया कलेज, गैंडाकोट, रामनगर टेक्निकल एन्ड म्यानेजमेन्ट कलेज, भूमही, गोर्खा युनाइटेड पब्लिक स्कुल, कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस, सुर्खेत छन्। त्यसैगरी, वन स्नातकमा सिद्धान्त क्याम्पस, गैंडाकोटले सम्बन्धन पाएका थिए।
कृषि विश्वविद्यालय मातहतका कलेजहरुलाई नै चुस्त व्यवस्थापनका साथ सञ्चालन गर्न नसकिरहेको अवस्थामा निजीलाई अनुगमन गर्न नसकिने, निजी र आंगिकलाई फरक मापदण्ड बनाइनु नहुने, तयारीबिना निजीकरण गरेर नाफामूलक बनाउनु नहुने र सम्बन्धन फिर्ता हुनुपर्नेजस्ता माग राखी विद्यार्थी संगठनहरु र प्राध्यापकले आन्दोलन गर्दै आएका थिए।
निजी कलेजलाई दिइएको सम्बन्धन खारेजी हुनुपर्ने माग गर्दै आएका आन्दोलनरत पक्षले ३ सातादेखि केन्द्रीय क्याम्पसमा तालाबन्दी गर्दै धर्ना दिँदै आएका थिए।
सो सम्बन्धमा विश्वविद्यालयका उपकुलपति प्रा डा इश्वरीप्रसाद ढकाललाई बुझ्दा आफूले पनि अपुष्ट खबर प्राप्त गरेको बताए।
सम्बन्धनका विषयमा छलफल तथा प्रधानमन्त्रीको ध्यानाकर्षणका लागि केही दिन अघिदेखि नै आन्दोलनरत प्राध्यापक तथा विद्यार्थीका प्रतिनिधिहरु राजधानीमा छन्।