काठमाडौँ। कालिमाटी तरकारी बजारमा भारतीय गाडी माथि नेपाली किसानले गोलभेडा फ्याकेका छन् । कालिमाटी स्थित प्रमुख तरकारी बजार भित्रै किसानहरुले भारतीय नम्बर प्लेटको बोलेरो गाडी नियन्त्रणमा लिई गोलभोडा फ्याकेका हुन् ।

नेपालमा उत्पादित गोलभेडाले बजार भाउ नपाएर उत्पादकहरु आन्दोलित भइरहेका बेला भारतीय गाडी युपी ५३ डिटि १२६६ नम्बरको बोलेरोमा ११० क्रेट गोलभेडा कालिमाटी भित्रिदै गरेको सूचना किसानहरुले पाएपछि तरकारी बजार परिसरभित्रै सांकेतिक विरोध स्वरुप गोलभेडा फ्याकेका हुन् ।

नेपालमै व्यापक गोलभेडा उत्पादन हुँदा पनि भारतबाट भन्सार छली गोलभेडा भित्र्याउने र नेपाली किसानलाई मारमा पार्ने जस्ता गतिविधि नगर्न किसान चौतारीका संयोजक टिकाराम सुवेदीले चेतावनी दिएका छन् । उनले किसानको हक हितका लागि काम गर्न र यस्ता क्रियाकलापहरु बन्द गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

नेपालबाट भारत तर्फ तरकारी पठाउदा विभिन्न बहानामा रोक लगाउने, यता स्वदेशी बजारमा किसानले भाउ नपाएर लागत सम्म नउठ्ने भन्दै संयोजक सुवेदीले गुनासो पोखे ।

भारतबाट अदुवा, मुला, बन्दा मात्र तरकारी ल्याउने सहमति गरिए पनि भन्सार ठगि गरि, बिल नतिरी र क्वारेन्टाइनको विधि नपुर्याई नेपाल भित्र्याइरहेको संयोजक सुवेदीले बताएका छन् ।

भारतबाट गोलभेडा आउँदै गरेको सूचना पाउना साथ् किसानहरुले सुनौली भंसार कार्यालयमा सोधपुछ गरी मंगलबार बिहान ५ बजेदेखि निगरानी बढाएका थिए ।

नेपाली गोलभेडाले बजार नपाएर उत्पादकहरु मारमा परेका बेला गुणस्तर मापदण्ड र क्वारेन्टाइनको विधि नपुगेको गोलभेडा निर्वाध रुपमा कालीमाटी छिराएकोले किसानहरुले आक्रोश पोखेका थिए।