ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने तयारी छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा आएसँगै शुरुभएको किचलो समाधान गर्न ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्न लागेका हुन् ।

स्वास्थ्यमन्त्रालयको जिम्मेवारी समालेका यादवले राज्यमन्त्री पद्मा अर्यालका कारण काम गर्न असहज भएको गुनासो गरेपछि प्रधानमन्त्री ओलीले अर्याललाई राज्यमन्त्रीबाट हटाउने तयारी गरेका छन् । अर्याललाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको स्रोतले जनाएको छ ।

कृषि, भूमि व्यबस्था तथा सहकारी मन्त्रालयलाई टुक्राएर भूमि सुधार व्यबस्था र कृषि तथा सहकारी मन्त्रालय गरि दुईवटा मन्त्रालय बनाउने भएको छ । अर्याललाई भूमि सुधार व्यबस्था मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्रीले गरेको स्रोतको दाबी छ ।

हाल यस मन्त्रालयको जिम्मेवारी सम्हालेका चक्रपाणी खनाल ‘बलदेव’लाई भने कृषि तथा सहकारी मन्त्रालयको मात्रै जिम्मेवारी दिइने भएको छ ।

खनालले भूमि सुधारका लागि केहि सकारात्मक कदम चालेपनि भागबन्डा मिलाउनै पर्ने बाध्यतामा सरकार परेपछि उनले भूमि सुधारको जिम्मेवारी छाड्नु परेको हो ।