
ललितपुर। मुलुकभर ७७.४७ प्रतिशत धान रोपाई भएको छ। १५ लाख ५२ हजार ४६९ हेक्टर क्षेत्रफल धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म १२ लाख २ हजार ७७३ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले दिएको जानकारी अनुसार गएको वर्ष साउन ११ सम्मको अबधिमा ६८.२७ प्रतिशत मात्रै धान रोपिएको थियो। त्यसको तुलनामा मन्त्रालयले सार्वजनिक गरेको सोमबारसम्मको तथ्यांकको आधारमा यो वर्ष बढेको हो।
सबैभन्दा बढी उच्च पहाडमा रोपियो :
मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी उच्च पहाडमा ८०.०४ प्रतिशत धान रोपाई भएको छ। ५८ हजार १५८ हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म उक्त क्षेत्रमा ४६ हजार ५४८ हेक्टर क्षेत्रफलमा रोपिएको छ।
त्यसपछि मध्य पहाडमा रोपाई भएको छ। ३ लाख ९९ हजार ६७५ हेक्टर क्षेत्रफलमा धान रोप्ने अपेक्षा गरिएकोमा हालसम्म ७७.७३ प्रतिशत अर्थात ३ लाख १० हजार ६६० हेक्टर क्षेत्रफलमा धान रापिएको हो।
सबैभन्दा बढी धान रोपाई हुने तराई क्षेत्रमा कम ७७.२५ प्रतिशत रोपाई भएको छ। १० लाख ९४ हजार ६३६ हेक्टर क्षेत्रफल मध्ये ८ लाख ४५ हजार ५६५ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ।