ललितपुर। सरकाले कृषिजन्य वस्तुको उचित मूल्य नपाएको भन्दै किसान आन्दोलित भएका छन् ।

किसान चौतारी नेपालद्वारा बुधबार कालिमाटी फलफूल तथा तरकारी बजार परिसरमै पुगेर किसानहरुले विरोध कार्यक्रम तथा नारा जुलुस निकालेका थिए ।

स्थानीयस्तरमा खपत भएर बाँकी रहेका कृषि उत्पादनले मूल्य नपाएको र अन्य वस्तुजस्तै निर्यात गर्ने वातावरण सिर्जना नगरेकाले दबाबमूलक कार्यक्रमअन्र्तगत सडकमै आएर आन्दोलन गर्नुपरेको दबाब कार्यक्रममा सहभागि कृषकले बताए ।

किसानले आफैं उत्पादन गर्ने र आफैं मूल्य तोक्न नपाउने अवस्था सिर्जना गरिँदा आफूहरु मारमा परेको उनीहरुको भनाई थियो । स्थानीयस्तरमा खपत भइ बाँकी कृषि उपजले मूल्य तथा बजार नपाउँदा त्यसै सड्ने, खेर जाने भएकाले यसले किसानलाई उत्पादनमा निरुत्साहित बनाएको बताए ।

अहिले बन्दा, मूला र अदुवाबाहेक अन्य कृषिजन्य उपजहरु भारत निर्यात गर्न सरकारले प्रोत्साहन गर्न नसकेको किसानको गुनासो छ । उनीहरुले कृषिजन्य वस्तुको उचित मूल्य पाउनु पर्ने, भारत तथा अन्य देश निर्यात गर्न सहजीकरण गर्नुपर्ने, किसानलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याउनुपर्ने, नेपाली तरकारी भारतले रोके नेपालले पनि भारतीय तरकारी रोक्नुपर्ने लगायतका माग राखेर प्लेकार्डसहित किसानहरुले नाराबाजी गरेका थिए ।

दबाब समितिले कालिमाटी फलफूल तथा तरकारी विकास समितिलाई मागपत्र पेस गरेको थियो । आफ्ना मागविरुद्ध सरकार गम्भीर नभए अझ सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने किसानहरुले बताएका छन् ।