भक्तपुर। चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रमा उत्पादन हुने जार तथा बोतलका खानेपानीमा कर लगाएको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएपछि भक्तपुरमा खानेपानीको हाहाकार भएको छ ।
नेपाल बोतल वाटर उद्योग संघ क्षेत्रीय समिति भक्तपुरले जार र बोतलको पानीमा पटके कर लगाएको भन्दै विरोध गर्दै पानी उत्पादन र वितरण बन्द गरेपछि खानेपानीको हाहाकार भएको हो । चाँगुनारायण नगरपालिकाले पानीको कर संकलन ठेक्कामा लगाएपछि व्यवसायी आन्दोलित भएका हुन् ।
नेपाल बोतल वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारीले खानेपानी प्रशोधित वितरण गर्ने उद्योगलाई कर लगाएकोमा आपत्ति नभएको बताउँदै ठेक्का लगाएर पटके कर उठाएकोमा आपत्ति भएको बताए ।
उद्योगीहरुले नगरपालिकालाई एकमुष्ट कर तिर्न तयार रहेको बताउँदै उनले बाटो बाटोमा बसेर ठेकेदारमार्फत पानीमा निकासी कर लगाउनु नाजायज भएको जिकिर गरे ।
नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले विगतमा पनि पानी उद्योगबाट कर लिँदै आएको बताउँदै उद्योग एवं व्यवसायीले कर तिर्नुपर्ने बताए ।
उनले राजश्व परामर्श समितिमा उद्योग वाणिज्य संघको प्रतिनिधि राखेर बोर्ड र परिषद्ले पानीको कर पास गरेको बताउँदै यसबारे समितिसँग छलफल गरिने बताए ।
भक्तपुरको झौखेलमा रहेको १५ भन्दा बढी खानेपानी उद्योग सञ्चालनमा रहेका छन् । यहाँको पानी भक्तपुरसँगै काठमाडौँ उपत्यकामा बिक्री हुँदै आएको छ ।