
पोखरा। नेपालमा बार्षिक ५५ करोड २० लाख रुपैयाँ बराबरको विषादी तरकारीमा प्रयोग हुनेगरेको तथ्य सार्वजनिक भएको छ । बाली संरक्षण निर्देशनालयका निर्देशक अच्यूतप्रसाद ढकालका अनुसार नेपालमा वार्षिक ५९ करोड बराबरको बिषदी खपत हुने गरेको छ । जसमध्ये ८० प्रतिशत तरकारीमा प्रयोग हुने गरेको हो ।
ढकालले सन २०१५/१६ मा ५ सय ७५ टन बिषादी खपत भएको जानकारी दिए । मंगलबार पोखरामा बाली संरक्षण निर्देशनालय, बिषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई पोखरा र ब्यवसायीक कृषि तथा ब्यापार आयोजना (प्याक्ट) को संयुक्त आयोजनामा पोखरामा आयोजित ‘तरकारी र फलफुलमा बिषादीको अवशेष र द्रुत विश्लेषण’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।
एक हेक्टरमा १ केजी ६ ग्राम विषादी :
नेपालमा तरकारी बालीमा प्रयोग भएको विषको अवस्था हेर्ने हो भने १ हेक्टर बराबर प्रति वर्ष १ केजी ६ सय ५ ग्राम बिषादी प्रयोग गर्ने गरिएको कार्यक्रममा जानकारी दिइएको छ । यो दर हरेक वर्ष बढ्दै गइरहेको बताइएको छ ।
अन्य देशको तुलनामा नेपालमा कम प्रयोग :
अन्य देशको तुलनामा नेपालमा कम मात्रामा विषादी प्रयोग भईरहेको निर्देशक ढकालको दाबी छ । उनका अनुसार एक हेक्टर जमिनमा प्रति वर्ष जापानमा ११ केजी, कोरियामा १६ केजी, ईटालीमा साढे १३ केजी र छिमेकी देश भारतमा साढे ४ केजी बिषादी प्रयोग गर्ने गरिएको छ । नेपालमा तरकारी बाली सहित समग्रमा हेर्दा एक हेक्टर जमिनमा प्रति वर्ष ३ सय ९६ ग्राम बिष प्रयोग हुने गरेको उनले तथ्यांक सार्वजनिक गरेका छन् ।
कार्यक्रममा प्रदेश नम्बर ४ का कृषि, वन, वातावरण तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले उपभोक्ता सचेत भएर अत्यधिक बिषादी प्रयोग भएका वस्तु प्रयोग नगरिदिए किसान र ब्यवसायीलाई बिषादी प्रयोग नगर्न मनोवैज्ञानिक दवाब दिने बताए । उपभोक्ता सचेत हुने वित्तिकै उत्पादक किसान र ब्यबसायी जैविक बिषादी प्रयोग गर्न बाध्य हुने उनको जिकिर छ ।