
हेटौँडा। प्रदेश नंबर ३ का भूमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले अब सरकारले परिणाममुखी अनुदान मात्र वितरण गर्ने बताएका छन् । कृषिमा दिएको अनुदानहरुको गलत प्रयोग भएको भन्दै मन्त्री लामाले अनुदानको विषयमा सरकार गम्भिर भएको समेत बताए ।
साना किसान विकास बैंक लिमिटेड इलाका कार्यालय हेटौँडाले साना किसान कृषि सहकारी सस्थाहरुको आइतबार गरेको बजेट तर्जुमा कार्यक्रममा बोल्दै मन्त्री लामाले कृषि तथा पशु ब्यवसायमा अनुदान लिँदै सरकारको आँखाका छारो हाल्ने काम भएको बताए ।
अब साना किसानलाई ठुला ब्यवसायी किसान बनाउनुपर्ने भन्दै मन्त्री लामाले मुलुक निर्माणको जिम्मेवारी किासनको काँधमा आएको बताए । सबै सहकारीले जनतासँग प्रतक्ष सरोकारमा ब्यवसायीक क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै उनले कृषि, सहकारीको क्षेत्रबाट मुलुकलाई समृद्ध बनाउन सक्नेमा जोड दिए ।
सरकार पनि सहकारीहरुसँग सहकार्य गरेर अघि बढने नीति निर्माणमा लागेको भन्दै उनले सहकारीहरुले पनि सरकारको कामलाई साथ दिएर सहयोग गर्नुपर्ने धारणा ब्यक्त गरे ।
दुई दिनसम्म चल्ने कार्यक्रममा मकवानपुर सहित ६४ वटा सहकारीका प्रवन्धकहरुको सहभागिता रहेको छ । यो इलाका अन्र्तगत तात्कालिन नारायणी अञ्चलमा रहेका पाँच जिल्लाका ६४ वटा साना किसान सहकारीहरु रहेको हेटौँडा इलाकाका अधिकृत तथा गोष्ठीका सहसंयोजक विष्णुप्रसाद कालाखेतीले जानकारी दिए ।
साना किसानले पाँच जिल्लामा खाद्य उद्योग, दाल प्रशोधन उद्योग, खाने तेल उद्योग, शित भण्डारण, दुध डेरी सञ्चालन, सुपथ मुल्य पसल सहितका उद्योगहरु सञ्चालन गरेको छ ।