
काठमाडौँ । नेपाल टेलिकमको ‘सर्भर सिस्टम’ बिग्रिएपछि नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० को ११३५ टोल फ्री सेवा प्रभावित भएको छ । हरेक सोमबार दिउँसो २ देखि ४ बजेसम्म नार्कको ११३५ टोल फ्रिमा फोन गरेका किसानका जिज्ञासा, समस्या र तिनको समाधानका लागि वैज्ञानिकले फोनमै जवाफ दिने ‘किसानसँग वैज्ञानिक’ कार्यक्रम सेवा प्रभावित भएको हो ।
यो कार्यक्रम यसै महिनाको सुरुदेखि लागु भएको थियो । कार्यक्रम अन्तर्गत हरेक हप्ताको सोमबार दिउँसो २ देखि ४ बजेसम्म किसानले फोन गरेर वैज्ञानिकसँग सिधै प्रश्न गर्ने गरेका थिए । ललितपुरको खुमलटारमा रहेको नार्क परिसरमा यसै हप्ताको सोमबार पनि विभिन्न बाली विज्ञानका वैज्ञानिक किसानका जिज्ञासा मेटाउन भेला भएपनि सफल हुन सकेनन् ।
झण्डै आधा घण्टासम्म पनि किसानको फोन नआएपछि केही वैज्ञानिक आफैँले ११३५ टोल फ्री मा फोन गरेका थिए । फोन नलागेपछि नेपाल टेलिकमको सुन्धारा शाखामा फोन गर्दा ‘सर्भर समस्या’ भएको भन्ने जवाफ वैज्ञानिकले पाएपछि सोमबारको ‘किसानसँग वैज्ञानिक’ कार्यक्रम प्रभावित भएको हो ।
‘फोनमै भए पनि किसानका जिज्ञासा मेटाउन हामी हरेक सोमबार जस्तै यो सोमबार पनि भेला भयौँ । तर सर्भर समस्याले किसानको फोन नै नलागेको टेलिकमबाट आधा घण्टापछि मात्रै थाहा पायौँ’ नार्कका सञ्चार, प्रकाशन तथा अभिलेख महाशाखाका प्रमुख हरिकृष्ण उप्रेतिले भने, ‘टेलिकमको समस्याले गर्दा यो हप्ता किसानसँगको हाम्रो कार्यक्रम प्रभावित भयो ।’
उनका अनुसार टेलिकमको सुन्धारा शाखाले चाँडै सर्भर समस्या समाधान गरिने बताएको छ । आउने हप्ताको सोमबार सर्भर समस्या नभएमा टोल फ्रीमार्फत किसानका जिज्ञासाको फोनबाटै जवाफ दिने कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।
किसानले आफ्नो बाली, बीउ, बालीमा लाग्ने किरालगायतका बारेमा फोनबाटै वैज्ञानिकसँग जिज्ञासा राख्ने गरेका छन् । यसअघिका सोमबारमा झण्डै २० देखि २५ जना किसानले वैज्ञानिकसँग कुरा गरेका महाशाखाका प्रमुख उप्रेतिले बताए ।
स्रोत : न्यूज एग्रो