
चितवन। चितवनको रत्ननगर १५ माधवपुरको एक कुखुरा फर्ममा हप्ता दिनमा ३ हजार ७ सय कुखुरा मरेको छ । लामिछाने पोल्ट्री फर्मको ४ वटा खोरका कुखुराहरु अचानक मर्न थालेपछि आफ्नो कुखुरामा बर्ड फ्लु लागेको हुनसक्ने सो फर्मका सञ्चालक अमृत लामिछानेले बताए । विगत ८ वर्षदेखि कुखुरा पाल्दै आएका लामिछानेको फर्ममा यति ठूलो मात्रामा लेयर्स कुखुरा मरेको थाहा पाई आज बिहिबार दिउसो १ बजे जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख चेतनारायण खरेल र पशु चिकित्सक डा. विकाश श्रेष्ठ सोही फर्ममा पुगेका थिए ।
कुखुराको खोरको अवलोकन पछि कार्यालय प्रमुख खरेलले छोटो समयमा यति धेरै मात्रामा कुखुरा मर्नुले बर्ड फ्लुको आशंका भएपनि ल्याब परीक्षणको रिपोर्ट नआई भन्न नसकिने बताए । त्यस्तै पशु चिकित्सक डा. विकाश श्रेष्ठले पनि आशंका भएको तर रिपोर्ट आएपछि मात्र यथार्थ भन्न सकिने उनको भनाइ थियो ।