काठमाडौं।  प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणका लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले प्राथमिकताका आधारमा एजेन्डा छनोट गरेको छ । मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी राष्ट्रिय महत्वका एजेन्डा परराष्ट्र मन्त्रालयलाई बुझाइएको हो । परराष्ट्रलाई बुझाइएका यस्ता एजेन्डाले प्रधानमन्त्री ओलीको भ्रमणमा प्रवेश पाउने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमण चैत २३ गतेदेखि हुँदैछ ।

मन्त्रालयका सहसचिव लेखनाथ आचार्यका अनुसार कृषितर्फ सात बुँदे एजेन्डा तय गरी परराष्ट्र मन्त्रालयलाई बुझाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहने गरी कृषि शिक्षाका एजेन्डा समावेश गरिएको छ । यी एजेन्डा अन्तर्गत नार्कभित्रै रहने गरी कृषिमा पीएचडी र मास्टर डिग्रीसम्म विशेष खालको वैज्ञानिक पढाइ गराउने नार्कको तयारी छ ।

नार्कका योजना निर्देशक डा.आनन्द गौतमले हाल नार्कअन्तर्गत रहेका सम्पूर्ण प्रतिष्ठानलाई नै मानार्थ मानित विश्वविद्यालय (बिम्ड टुवी युनिभरसिटी) को मान्यता दिनुपर्ने हुन्छ । ‘पछिल्लो १० वर्षदेखि मानार्थ मानित विश्वविद्यालयको तयारी भए पनि हालसम्म यो विषयमा साकारात्मक प्रगति भएको छैन्’, योजना निर्देशक गौतमले भने, ‘अन्य मुलुकमा पनि कृषि अनुसन्धान केन्द्र वा परिषदन्तर्गतका प्रतिष्ठानलाई मानार्थ मानित विश्वविद्यालयको मान्यता दिएर किसानको पक्षमा प्रभावकारी शिक्षा प्रदान गर्ने काम हुँदै आएको छ ।’
उनका अनुसार संघीयता संरचनाअनुसार नार्कको नयाँ संरचनाको खाका तयारसँगै उक्त मानार्थ मानित विश्वविद्यालयको नीति पनि तयार गर्न लागिएको छ ।

नीति आएसँगै पाठ्यक्रम, भौतिक पूर्वाधार निर्माण, प्रयोगशाला स्तरोन्नतिलगायत काम अघि बढाइनेछ । भारतको कृषि अनुसन्धान संस्थान (आईएआरआई) ले भौतिक पूर्वाधार, प्रयोगशाला स्तरोन्नति तथा पाठ्यक्रमका बारेमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने यसअघि नै प्रतिबद्धता जनाइसकेको छ ।

मन्त्रालयका अनुसार नेपालबाट भारतमा हुने निर्यात प्रक्रियामा बेलाबेलामा हुने समस्या पनि मुख्य एजेन्डाका रूपमा छनोट गरिएको छ । बर्सेनि अदुवा, अलैंची र तरकारीको निर्यातमा आउने समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न प्रधानमन्त्री भ्रमणको कार्यसूचीमा यो विषयलाई समावेश गरिएको मन्त्रालयको भनाइ छ । सहसचिव आचार्यका अनुसार निर्यातजन्य वस्तु अदुवा, अलैंची, चिया, जडीबुटीको निकासी सहज हुनुपर्ने एजेन्डालाई पनि समावेश गरिएको छ ।

यो विषयबाहेक धान, तरकारी र मकैको उन्नत बीउ अनुसन्धान, भैंसी र होलेस्टिन गाईसम्बन्धी प्योर वीर्यको उपलब्धता, अर्गानिक फार्मिङ, तेस्रो मुलुकबाट आयात हुने रासायनिक मल भित्याउन वीरगन्जवाहेक जोगवनी र सुनौली नाका खुला गर्नुपर्र्ने एजेन्डा पनि प्राथमिकताका साथ समावेश गरिएको छ ।