काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले उखु किसानलाई तुरुन्त भुक्तानी नदिए चिनी उद्योगीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । कृषिमन्त्री चक्रपाणि खनालको समेत उपस्थितिमा उद्योग मन्त्रालयमा शनिबार भएको छलफलमा मन्त्री यादवले किसानको उखुको भुक्तानी रोके ठगी मुद्दामा उद्योगीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

छलफलमा दुवै मन्त्रालयका सचिव, चिनी उद्योगी, सर्लाहीका सांसद र किसान प्रतिनिधिको सहभागिता थियो । चिनी उद्योगले उखुको भुक्तानी नदिएपछि सर्लाहीका किसानले हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योगमै आमरण अनशन सुरु गरेपछि मन्त्री यादवले उद्योगीलाई मन्त्रालयमै बोलाएर किसानको उखुको भुक्तानी नरोक्न चेतावनी दिएका हुन् ।

तुरुन्तै भुक्तानी गर्ने प्रतिबद्धता :
उद्योग र कृषिमन्त्रीसँगको छलफलमा चिनी उद्योगीको प्रतिनिधित्व गर्दै बसेका शशिकान्त अग्रवालले किसानलाई तुरुन्तै भुक्तानी दिने प्रतिबद्धता जनाएका छन् । छलफलमा सहभागी माओवादी केन्द्रका सचिवालय सदस्य तथा सर्लाहीका किसान प्रतिनिधि डाचाराज वाग्लेले उद्योगी अग्रवालले आइतबारबाट उखुको भुक्तानी दिने प्रतिबद्धता जनाएको जानकारी दिए ।

‘मातृकाजीले किसानको उखुको भुक्तानी किन रोकेको भनेर उद्योगीको झाँको झार्नुभयो,’ वाग्लेले भने, ‘उद्योगीको प्रतिनिधित्व गरेर छलफलमा बसेका शशिकान्त अग्रवालले आइतबारदेखि किसानलाई भुक्तानी दिने प्रतिबद्धता जनाएका छन्, हेरौँ के गर्छन् ।’ मन्त्री यादवले किसानलाई तुरुन्तै भुक्तानी नदिए उद्योगीलाई हत्कडी लगाएर ठगी मुद्दामा कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।

भुक्तानी नपाउँदा किसानलाई समस्या :
छलफलमा सहभागी सर्लाहीका किसान नेता कमल बुढाथोकीले उखुको भुक्तानी रोकिँदा किसानको जीवनयापनमै समस्या भएको बताए । छलफलमा सर्लाहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामेश्वर यादव, प्रदेश सभा सदस्य डिल्ली उप्रेती, उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनाली, उद्योगी हितेश गोल्छालगायतको सहभागिता थियो ।

उखुको भुक्तानी माग गर्दै सर्लाहीका किसानले इन्दु शंकर चिनी उद्योग हरिवनमा विगत एक हप्तादेखि धर्ना दिइरहेका छन् । उद्योगलाई उखु बेचेकोे चार महिना बित्न लाग्दासमेत भुक्तानी नपाएपछि किसानले उद्योगको मूल गेटमा धर्ना दिएका हुन् । चैत ५ गतेदेखि किसानले उद्योगको मूल गेटअगाडि धर्ना दिए पनि उद्योग प्रशासनले किसानको मागको सुनुवाइ गरेको छैन ।