चितवन । जिल्लामा गहुँखेती गरिँदै आएको क्षेत्रफल वर्सेनि घट्दै गएको छ । विगत पाँच वर्षमा गहुँखेती लगाइएको क्षेत्रफलमा ३० प्रतिशतले कमी आएको छ ।

जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार यसवर्ष पाँच हजार ५२० हेक्टरमा गहुँ लगाइएको छ । आव २०७०र७१ मा सात हजार ८८५ हेक्टर क्षेत्रफलमा गहुँ लगाइएको थियो । गत वर्षको तुलनामा यसवर्ष दुई हजार ३६५ हेक्टर क्षेत्रफल घटेको देखिन्छ ।

कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेका अनुसार गत आवमा ६ हजार २० हेक्टर क्षेत्रफलमा २१ हजार ७० मेट्रिक टन गहुँ उत्पादन भएको थियो । क्षेत्रफल घटेसँगै उत्पादन पनि घट्दै गएको छ । आव २०७०र७१ मा २३ हजार ६५५ मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

कार्यालय प्रमुख सुधीर श्रेष्ठका अनुसार हिउँदे वर्षा कम हुनु, बजार भाउ नपाउनु, बीउ महँगो हुनु, तोरी, मुसुरो तथा हिउँदे तरकारी लगाउने प्रचलन बढ्नु, जग्गा खण्डीकरण हुनु जस्ता कारणले गहुँ लगाउने क्षेत्रफलमा कमी आएको हो । पानीको सुनिश्चितता हुन नसक्दा कृषकले ढुक्कसँग गहुँ लगाउन पाएका छैनन् । जिल्लामा धान र मकै पछिको तेस्रो बालीका रुपमा गहुँ रहेको छ ।

शिवनगर, पार्वतिपुर, पटिहानी, माडि, कुमरोज, कठार, भण्डारा लगायतका क्षेत्र गहुँका लागि पकेट क्षेत्र मानिन्छन । पार्वतिपुरका कृषक चिरञ्जीवी पोख्रेल उत्पादनलागत बढ्नु र उत्पादन घट्नुका कारण कृषकले गहुँ खेती छोड्दै गएको बताउँछन् ।

बीउ, मल, ट्याक्टर खर्च र खेतला खर्च वर्सेनि बढ्दै जाँदा पनि गहुँको मूल्य बढ्न नसक्दा कृषकमा गहुँखेती गर्ने ऊर्जा घटेर गएको छ । यस्तै अवस्था रहेमा वर्सेनि गहुँखेती गर्ने किसानको संख्या घट्दै जाने देखिन्छ ।