बाग्लुङ । बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्वर ८ सिगानालाई सुन्तला पकेट क्षेत्र बनाउने तयारी थालिएको छ ।

सुन्तलाको पकेट क्षेत्रको रुपमा घोषणा भइसकेको सिगानालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण, स्थानीय जनप्रतिनिधि, कृषि समुहको अगुवाईमा सुन्तलाको पकेट क्षेत्र बनाउने कामलाई तीव्रता दिईएको हो ।

सिगानामा ५ वर्ष भित्र करिव १५ हजार उत्पादन दिने सुन्तलाका विरुवा तयार पारी बागलुङ जिल्लाकै नमुना सुन्तला गाउँको रुपमा विकास गर्न लागिएको वडा अध्यक्ष राजन जि.सी.ले जानकारी दिनुभयो ।

हाल बल्क क्षेत्रको रुपमा रहेको सिगानामा ३५ सय भन्दा बढी विरुवाले उत्पादन दिइराखेको बताईएको छ । अहिले ६ सय रोपनी भन्दा वढी क्षेत्रफलमा ११ हजार सुन्तलाका विरुवा लगाउनको लागि त्यस क्षेत्रमा भएका रुख विरुवाहरु धमाधम कटान गरी खाल्डो खन्ने काम भैरहेको कृषि समिति सिगानाका अध्यक्ष रेशम थापाले बताउनुभयो ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र पोखराको टोलीले आवश्यक अनुसन्धान पछि सो क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र बनाउन सकिने बताएपछि अहिले स्थानीयहरुको सक्रियतामा काम थालिएको हो । उक्त क्षेत्रमा सुन्तला उत्पादन भएमा समग्र सिगानाको आर्थिक विकासमा टेवा पुग्ने तथा युवाहरुलाई घरमै बसेर अर्थ उपार्जनमा सहयोग पुग्ने बाग्लुङ नगरपालिका ८ का वडा सदस्य पदम कुमारी जि.सी.ले बताउनु भयो ।

समुद्री सतहको ९ सय देखि १६ सय मिटर सुन्तलाको लागि उपयुक्त हावा पानी हुने जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ । सुन्तलाको उत्पादन क्षेत्रको रुपमा विकास भइ सकेको सिगानालाई सुन्ताला पकेट क्षेत्र बनाउन सम्भव भएको बताइएको छ ।