काठमाडौं । भैंसीपालन व्यवसायबाट प्रसस्त आम्दानी देखीएपछि यतिखेर युवावर्ग पशुपालन प्रति आर्कषित हुन थालेकाछन् । रुकुम पश्चिमको मुुसिकोट नगरपालिकाका एक युवाले भैँसीपालनबाट मासिक रु ४५ हजारभन्दा बढी आम्दानी गदै आउनुभएको छ ।

नगरपालिका–६ सेरीगाउँका यामराज गौतमले चार वर्षदेखि भैँसीपालनबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । उहाँले विसं २०७० देखि भैँसीपालन व्यवसाय शुरु गर्नुभएको र यो चार वर्षको अवधिमा रु ३० लाखभन्दा बढी आम्दानी गरिसकेको बताउनहुन्छ ।

गौतमले दैनिक ३५ लिटर दूध बजारमा बिक्री गर्दै आउनुभएको छ । भैँसीपालन शुरु गरेपछि पर्याप्त आम्दानी लिन सकिएको उहाँको भनाइ छ । हाल उहाँसँग छ वटा भैँसी र एउटा गाई रहेकामा चार वटा भैँसी र एउटा गाई दुहुना रहेको छन् ।

सदरमुकाम खलंगा बजारमा दूध बिक्री गर्ने उद्देश्यले उहाँले भैँसीपालन शुरु गर्नुभएको बताउनु हुन्छ । उहाँले अहिले बजारमा प्रतिलिटर रु ५० मा दूध बिक्री गर्ने गर्नु भएको छ । चार वर्षअघिसम्म आफैँ रोजगारी खोज्दै हिँड्ने गौतमले अहिले अन्य दुई जनालाई रोजगारी दिनुभएको छ ।

दूधका साथै उहाँले कम्पोष्ट मलसमेत बिक्री गर्दै आउनुभएकोछ । गौतम सदरमुकामको पहिलो व्यावसायिक भैँसीपालक तथा दूध उत्पादक हुनुहुन्छ । खलंगा बजारमा दूधको आवश्यकता बढ्दै जाँदा भैँसीपालन उपयुक्त व्यवसाय हुने देखेपछि आफू यस व्यवसाय तर्फ आकर्षित भएको उहाँको भनाइ छ ।

बजारमा बढिरहेको दूधको माग परम्परागत रूपमा गरिएको भैँसी तथा गाईपालनबाट पूर्ति हुन सम्भव छैन । यही अवसरलाई छोपेका गौतम आफूलाई युवा उद्यमीका रूपमा स्थापित गर्न सफल हुनुभएको छ ।