काठमाडौं । केही हप्तादेखि प्याजको मूल्य लगातार बृद्धि भएपछि सर्वसाधारण मर्कामा परेका छन् । भारतीय बजारमा प्याजको मूल्य बढेको र प्याजको मागअनुसार आपूर्ति हुन नसकेकपछि नेपाली बजारमा प्याजको मूल्य आकासिएको हो ।

नेपालमा उत्पादन हुने प्याजले बजारको एक प्रतिशत माग पनि पूरा नगर्ने भएकाले बजारमा बिक्री हुने प्याज छिमेकी देशहरु चीन र भारतबाट आयात गर्ने गरिन्छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भारतबाट बिगतमा दैनिक ७० टनसम्म प्याज आउने गरेकोमा अहिले २० देखि ३० टनमात्रै आइरहेको छ ।

नेपालमा प्याजको भाउ घट्न भारतमै घट्नु पर्ने बजार विकास समितिले जनाएको छ । विभिन्न चाडपर्व नजिकिएकाले प्याजको माग बढ्दै जाने र त्यसअनुसारको आपूर्ति नहुने भएकाले माग अझै बढ्ने बताइएको छ ।

भारतको राजधानी नयाँ दिल्लीका खुद्रा पसलमै प्याजको भाउ एकसय भारु प्रतिकिलो पुगिसकेको छ । जुन दुई हप्ता अगाडिसम्म ८० को हाराहारीमा थियो । भारतीय बजारमा प्याजको थोक मूल्य ५७ भारु पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नेपालमा करीव ९५ प्रतिशत प्याज भारतबाटै आयात हुन्छ ,त्यसैले  भारत सरकारले प्याजको निर्यातमा कडाइ गरेपछि त्यसको प्रभाव नेपालमा परेको हो ।

भारतमा अहिले प्याजको मूल्य दुई वर्षयताकै उच्च विन्दूमा पुगेको छ । भारतले आफ्ना छिमेकी मुलुक नेपाल, पाकिस्तान, भुटानदेखि खाडी मुलुकसम्म ठूलो परिमाणमा प्याज निर्यात गर्छ ।